प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको काम, व्यवहार र संसदीय गतिविधिमाथि आम नागरिकको निरन्तर निगरानी र मूल्यांकन भइरहेको भन्दै जिम्मेवार र अनुकरणीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सांसदहरू अब केवल पार्टी नेतृत्वप्रति मात्र होइन, जनताप्रति पनि प्रत्यक्ष उत्तरदायी रहेको बताए। उनले सांसदहरूबीच राम्रो कानुन निर्माण, मर्यादित व्यवहार र प्रभावकारी प्रस्तुति दिने विषयमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे। ‘हामी लाखौँ जनताको मतबाट यहाँ आएका प्रतिनिधि हौँ। समयपालनदेखि हाम्रा हरेक गतिविधि जनताले नियालिरहेका छन्। त्यसैले जनताको मूल्यांकनमा अब्बल बन्ने गरी काम गर्नुपर्छ,’ सभामुख अर्यालले भने।
बिहान १० बजे सुरु भएको अभिमुखीकरण कार्यक्रममा अपेक्षाअनुसार सांसदहरूको उपस्थिति नदेखिएको भन्दै सभामुख अर्यालले असन्तुष्टि व्यक्त गरे। उनले सांसदहरूले समयको महत्त्व बुझ्दै यस्ता कार्यक्रममा नियमित र समयमै सहभागी हुनुपर्नेमा जोड दिए। नवनिर्वाचित सांसदहरू संसदीय प्रक्रिया र अभ्यासमा अझै अभ्यस्त हुन बाँकी रहेकाले अभिमुखीकरण उपयोगी हुने उल्लेख गर्दै उनले प्रशिक्षण अवधिमा अनुशासित भएर सहभागी हुन आग्रह गरे। ‘मोबाइलमै अल्झिने, आपसमा गफ गर्ने होइन। समय र राज्यको स्रोत खर्च गरेर यहाँ आइसकेपछि केही सिकेर फर्किनुपर्छ,’ उनले भने।
सभामुख अर्यालले दुईदिने अभिमुखीकरणबाट प्राप्त ज्ञान र सिकाइ आगामी प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रस्तुति र भूमिकामार्फत देखिनुपर्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।



















