मूल्य घटाउन पेट्रोल पम्प सञ्चालकलाई ट्रम्पको कडा चेतावनी

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल)को मूल्यमा उल्लेख्य गिरावट आएसँगै इन्धनको खुद्रा मूल्य घटाउन विश्वव्यापी दबाब बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालक र इन्धन विक्रेताहरूलाई तुरुन्तै पेट्रोल र डिजेलको दाम कम गर्न माग गर्दै कडा चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६८ डलरको आसपासमा आउँदा पनि खुद्रा इन्धनको मूल्य भने आवश्यकताभन्दा बढी नै राखिएको भन्दै ट्रम्पले आक्रोश व्यक्त गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘इन्धन विक्रेताहरूले तुरुन्तै मूल्य घटाउनुपर्छ । हालको कच्चा तेलको मूल्यका आधारमा उपभोक्ताहरूबाट बढी रकम असुल भइरहेको छ ।’ट्रम्पले आवश्यकताभन्दा बढी मूल्य असुल्नु गैरकानुनी भएको उल्लेख गर्दै यदि विक्रेताहरूले चाँडै मूल्य समायोजन नगरे ठुलो कानुनी र व्यावहारिक झमेलाको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।