नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउने प्रवृत्तिलाई राजनीतिक अपरिपक्वताको संज्ञा दिएका छन्।
६८औँ संसद् दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको लामो सङ्घर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्थामाथि अनावश्यक विवाद सिर्जना गर्नु उचित नहुने बताए। आङदेम्बेका अनुसार नेतृत्वको अकर्मण्यता र कमजोर सोचलाई लुकाउन शासकीय प्रणालीलाई दोष दिने प्रवृत्ति बढ्दै गएको छ। उनले सात प्रदेश र तीन तहको सरकारसहितको संघीय संरचना नेपाली जनताको ऐतिहासिक संघर्षको उपलब्धि भएकाले कुनै आवेग वा क्षणिक राजनीतिक लहरका आधारमा त्यसमाथि प्रश्न उठाउन नहुने धारणा राखे। ‘अभ्यास नै पूरा नगरी शासकीय स्वरूप असफल भयो भन्नु उचित होइन। आफ्नै कमजोरीको दोष व्यवस्थामाथि थोपर्न खोज्नु राजनीतिक रूपमा परिपक्व सोच होइन,’ उनले भने।
उनले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी यसको प्रत्यक्ष लाभ जनताले अनुभूति गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। साथै, वर्तमान व्यवस्थाप्रति अनावश्यक संशय उत्पन्न गर्ने गतिविधिबाट सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ थियो। संसद् दिवसलाई औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी लोकतन्त्र, संविधान र जनताप्रतिको उत्तरदायित्वलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै आङदेम्बेले सबै राजनीतिक दल र सरोकारवालालाई साझा प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरे।



















