सभामुखको भूमिका निष्पक्ष नभएको कांग्रेस संसदीय दलका नेताको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।

सोमबार सिंहदरबारमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा बोल्दै आङ्देम्बेले सभामुखले विपक्षी दलहरूको धारणा र प्रतिक्रिया ‘नाडी छाम्ने’ शैलीमा व्यवस्थापन गर्न खोज्नु उपयुक्त नहुने टिप्पणी गरे। संसद् सञ्चालन गर्ने व्यक्ति कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण सदनको अभिभावक हुने भएकाले त्यसअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। उनले संसद्‌मा विपक्षी दलहरूले कुनै विषयमा विरोध जनाउँदा सबै दलका प्रतिनिधिलाई आफ्नो धारणा राख्ने अवसर दिनुपर्नेमा जोड दिए। एक जनामार्फत मात्रै विपक्षीको धारणा प्रस्तुत गराउने सोच लोकतान्त्रिक अभ्याससँग मेल नखाने उनको भनाइ थियो।

आङ्देम्बेले सत्तापक्षका तर्फबाट पटक–पटक विवादित अभिव्यक्ति सार्वजनिक हुँदासमेत प्रतिपक्षले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै संसद्को दैनिक कार्यसूची सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गरे। उक्त सहयोगलाई कमजोरीका रूपमा नभई सदन सञ्चालनप्रतिको जिम्मेवारी र सहकार्यको भावनाका रूपमा बुझ्न उनले आग्रह गरे। उनका अनुसार संसद्मा देखिएको अवरोधको मुख्य कारण सत्तापक्षले विपक्षीसँग आवश्यक समन्वय नगर्नु हो। उनले संसद्को प्रभावकारी सञ्चालनका लागि सरकार र सभामुख दुवैले सबै दलसँग समान व्यवहार गर्दै संवाद र सहकार्यको वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए।