प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
गम्भीर जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न उनले संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्न पनि जोड दिएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डलाई थप सुदृढ बनाउन आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन्। छलफलका क्रममा उनले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको विस्तार र सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्। उनले एक स्वास्थ्य संस्थाले विकास गरेका सफल अभ्यासलाई अन्य संस्थाले पनि सिकाइ र साझेदारीका माध्यमबाट अपनाउनुपर्ने आवश्यकता औँल्याए।
साथै, स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको समस्या सम्बन्धित निकायसँग समन्वय गरी कानुनअनुसार समाधानका लागि पहल गरिने बताए। बैठकमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, पूर्वाधार विकास तथा डिजिटल स्वास्थ्य प्रणालीको प्रभावकारी कार्यान्वयनका विषयमा सुझाव दिएका थिए। उनीहरूले केही प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायणसिंह गुरुङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए।


















