लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरूद्ध छ । कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ–हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडक खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन रहेतापनि जवाङखोलास्थित सडक भने पूर्ण रूपमा बन्द रहेको छ ।
प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाउँदै प्रहरीले यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


















