श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ जनकपुरधाम जाने क्रममा जानकी मन्दिर परिसरमा पुगेका पार्टीका नेता तथा कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव उत्पन्न भएको छ ।
साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेको जनाइएको छ । आज जानकी मन्दिर दर्शनका लागि जनकपुर जाने कार्यक्रम रहेकै बेला उक्त घटना भएको हो । हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईबारे दिएको अभिव्यक्तिलाई लिएर उनको प्रवेशको विरोध गरेको जनाएको छ । घटनापछि अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै आफूलाई गाई खाने व्यक्तिका रूपमा चित्रित गरेर राजनीति गर्न खोजिएको आरोप लगाएका छन् । उनले जानकी मन्दिरप्रति सम्मान व्यक्त गर्दै यस विषयमा अनावश्यक विवाद सिर्जना गरिएको टिप्पणी गरेका छन् ।
यसअघि अर्को फेसबुक स्टाटसमार्फत साम्पाङले जनकपुरमा तनावपूर्ण अवस्था सिर्जना भएको उल्लेख गर्दै गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको दाबी गरेका थिए । उनले विगतका विषय र धार्मिक मुद्दा उचालेर विवाद सिर्जना गरिएको बताउँदै आफ्ना नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन् । श्रम संस्कृति पार्टीले मंगलबार जनकपुरमा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।


















