विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ, ६ लाख ६५ हजार रुपैयाँको स्रोत खुलाउन नसकेपछि अनुसन्धान

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख तथा नेपाल सरकारका उपसचिव मिक्मार तामाङ विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ परेका छन्।

दोलखाको भीमेश्वर नगरपालिका-९ निवासी तामाङ ३ साउनमा बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका बेला विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनको साथबाट ठूलो परिमाणमा नगद फेला पारेको थियो। घटनाबारे प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेको हो। प्रहरीका अनुसार तामाङको झोलाबाट १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो। प्रारम्भिक सोधपुछका क्रममा उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको थियो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बरामद रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेकाले अनुसन्धान जारी रहेको जानकारी दिइन्। उनका अनुसार रकमको स्रोत र त्यससँग सम्बन्धित अन्य पक्षबारे विस्तृत अनुसन्धान भइरहेको छ।