प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनु राप्रपाको ऐतिहासिक भूल! चिराग मान सिंह कुँवर पूर्व केन्द्रीय सदस्य, राप्रपा एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका संस्थापक अध्यक्ष

 

लामो समय योगदान दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी छाड्नुभयो। छाड्नुपर्ने अवस्था किन आयो?

लामो समय योगदान दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी छाड्नुपर्दा कता–कता मलाई पीडाको अनुभूति भएको छ। २०५१ सालदेखि नै म राप्रपामा आबद्ध थिएँ। म सुरुदेखि नै मूलतः ट्रेड युनियनमा सक्रिय रहँदै आएँ। राप्रपा समर्थक ट्रेड युनियनको सुरुवात मैले नै गरेको हुँ।

हामीले राजसंस्था, हिन्दु धर्म र राष्ट्रियतालाई आफ्ना एजेन्डा बनाउँदै आयौँ। आदरणीय कमल थापाको नेतृत्वमा राप्रपा एउटा बलियो पार्टी पनि बन्यो। उहाँले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई निकै माथि उठाउनुभएको थियो। जनताले हाम्रा एजेन्डाहरूलाई स्वीकार गरेर हामीलाई पत्याएका पनि थिए। हामीले संसदमा २४ सिट हासिल पनि गरेका थियौँ।

तर जनताले हाम्रा एजेन्डालाई स्वीकार गरेर समर्थन गरेका बेला हाम्रा नेताहरूले एजेन्डाभन्दा सत्तालाई बढी महत्त्व दिनुभयो। जनताले ‘एक मत गाईलाई, अर्को मत सूर्य वा रुखलाई’ भन्ने अभियान नै चलाए। अन्य राजनीतिक दलहरूले पनि हाम्रा मुद्दालाई बेवास्ता गर्न सक्ने स्थिति थिएन।

तर दुर्भाग्यवश, नेता कमल थापाले एजेन्डालाई भन्दा सत्तालाई बढी महत्त्व दिनुभयो। यसले गर्दा पार्टी फेरि ओरालो लाग्यो र जनताले मन पराउन छाडे।

नेतृत्वको भनाइ र गराइमा पटक्कै मेल खाएन। राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोक्ने, तर गणतन्त्रवादी प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने। जुन पार्टीले राजसंस्था र हिन्दु राष्ट्र हटाउन मुख्य भूमिका खेल्यो, त्यही पार्टीको नेतृत्वमा बनेको सरकारमा उपप्रधानमन्त्री बनेर जाने। यस्तै गलत कारणले गर्दा जनताले हामीलाई पत्याउन छाडे। कमल थापाले उचाइमा पुर्‍याएको एजेन्डालाई उहाँ आफैँले तल खसालिदिनुभयो।

त्यसपछि हामीले नेतृत्व फेर्यौँ। राजेन्द्र लिङ्देनलाई नयाँ नेतृत्वमा ल्यायौँ, केही हुन्छ कि भनेर। नयाँ नेतृत्वलाई पनि जनताले ‘ठिकै छ होला’ भनेर केही हदसम्म पत्याए। चुनावमा केही सिट पनि जित्यौँ। दुर्भाग्यवश, राजेन्द्र लिङ्देनजी पनि कमल थापाकै पथमा हिँड्नुभयो। उहाँ पनि प्रचण्ड नेतृत्वकै सरकारमा जानुभयो। जबकि हाम्रो महाधिवेशनमा सरकारमा नजाने एजेन्डा पारित भएको थियो। जसले गर्दा हाम्रो एजेन्डाको महत्व तल पर्‍यो। जनताले हामीलाई ‘यो पार्टीका मान्छेहरू ठीक छैनन्, यिनीहरूले आफ्ना एजेन्डा त्यागे’ भन्ने ठाने। यसरी पार्टी ठीक बाटोमा नहिँडेपछि हामीले पार्टी परित्याग गर्यौँ।

भनेपछि राप्रपाका अध्यक्षले राजसंस्था हिन्दु धर्मलाई सत्ता चढ्ने भर्‍याङ मात्रै बनाए?

हो, भर्‍याङ मात्रै बनाए। ठगी खाने भाँडो बनाए भन्ने जनताले ठाने। त्यही भएर यसपालिको चुनावमा पार्टीले जित्न सकेन। एक सिट ज्ञानेन्द्र शाहीले जित्नुभयो। त्यो पनि पार्टीभन्दा उहाँको आफ्नै बलबुताले जित्नुभएको हो। ज्ञानेन्द्र शाहीले जितेपछि समानुपातिकतर्फ ५ सिट आयो। त्यो समानुपातिक सिट कसरी बाँडियो, त्यसमा के–कस्तो आर्थिक चलखेल भयो, त्यो सबैलाई थाहा छ।

त्यतिबेला महिला नेतृहरू अनशन नै बस्नुभएको थियो नि, होइन त?

हो, उहाँहरूले उठाउनुभएका कुराहरू जायज थिए।

राजेन्द्र लिङ्देनले समानुपातिक सांसद पद बेचेकै हो त?

हेर्नुस्, लेनदेन भएको त कसैले देख्दैन। तथापि एउटा कुरा के छ भने, खुस्बु ओली— जसले जिन्दगीमा राप्रपालाई भोट नै हालेकी थिइनन्, उहाँ राप्रपामा आएको कति भयो? र त्योभन्दा अघिल्लो चुनावमा उहाँले राप्रपाकै विरुद्धमा चुनाव उठ्नुभएको थियो।

पार्टीमा विद्रोही उम्मेदवारहरूलाई निष्कासन पनि गरियो। तर अध्यक्षज्यूले सबैभन्दा पहिला खुस्बु ओलीलाई नै पार्टीमा बहाली गरिदिनुभयो। के कारण हो, अब त्यो उहाँलाई नै थाहा होला। धेरै लामो समयदेखि पार्टीमा काम गर्ने महिलाहरू हुनुहुन्थ्यो। उहाँहरूलाई निस्तेज पारियो र मनोमानी ढङ्गले अगाडि बढियो।

उता मधेश प्रदेशमा थुप्रै साथीहरू हुनुहुन्थ्यो। कसरी टिकट बाँडियो, मैले धेरै कुरा नभने पनि त्यो जगजाहेर छ।

भाषणमा राजेन्द्र लिङ्देनले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भन्नुहुन्थ्यो। तर व्यवहारमा आफैँले समानुपातिक सांसद पद बेच्नुभयो?

भनाइ र गराइमा फरक भयो। ‘हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ’ भनेजस्तै भयो।

भनेपछि राजेन्द्र लिङ्देनको देखाउने दाँत चपाउने दाँत फरक छ?

तपाईं आफैँ विचार गर्नुस् न, राजेन्द्र लिङ्देनको हिजोको हैसियत र आजको हैसियत! मैले भनिरहनै पर्दैन। हिजोसम्म मैले उहाँलाई नेता मानिरहेको थिएँ, तर लामो समयसम्म म त्यहाँ टिकिरहन सकिनँ। उहाँका गतिविधिलाई सहनै नसकेर म पार्टी छाड्न बाध्य भएँ।

राप्रपा छाड्नुको मुख्य कारण वैचारिक हो कि व्यवस्थापनको?

ठूलो कुरा त व्यवस्थापनकै हो। एजेन्डाको कुरा पनि छ। राजसंस्था र हिन्दु धर्मकै एजेन्डा छ, तर त्यसलाई देखाएर भोट बटुल्ने काम मात्रै भयो। एजेन्डा स्थापित गर्न आन्दोलन गर्नुपर्ने, त्यसलाई मूर्त रूप दिएर अगाडि बढाउनुपर्ने थियो, तर त्यो भएन।

यही कुरा यहाँहरूले महाधिवेशनमा उठाएर नेतृत्व फेर्न पनि सक्नुहुन्थ्यो नि, फेरि पार्टी नै छाड्नुभयो?

तपाईंले एउटा गम्भीर कुरा उठाउनुभयो। एउटा कुरा के छ भने, नेतृत्वले पार्टीलाई सही दिशामा लैजान र त्यसको उचित व्यवस्थापन गर्न सकेन।

अब नयाँ पार्टी कहिले खोल्नुहुन्छ ?

पार्टी खोल्ने भन्ने कुरा त्यति सहज पनि छैन। अब हामी पार्टी खोल्ने तयारीमा छौँ। करिब–करिब एक हप्ताभित्र पार्टी दर्ता गर्छौँ।

नाम तय गर्नुभयो?

अहिले मैले ठ्याक्कै एउटा नाम भनौँला, भोलि अर्को परिवर्तन पनि हुन सक्छ। नेपालमा धेरै पार्टीहरू निर्वाचन आयोगमा दर्ता छन्। आयोगमा जाँदा नाम अरूसँग मिल्न पनि सक्छ, हामीले चाहेको निर्वाचन चिह्न अरूले लिइसकेको हुन पनि सक्छ। त्यसैले केही प्राविधिक कुराहरू छन्। अहिले हस्ताक्षर सङ्कलन गर्दैछौँ। विधान तयार गर्दैछौँ, करिब–करिब सिद्धिसकेको छ। अब हामी छिट्टै, एक हप्ताभित्रै नयाँ पार्टी गठन गर्छौँ। धवल शम्शेर राणाजीको नेतृत्वमा नयाँ पार्टी बनाउँछौँ।

नयाँ पार्टीको एजेन्डा के हुन्छ?

एजेन्डा नयाँ हुँदैन। एजेन्डा त संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य, सङ्घीयताको खारेजी, राष्ट्रियता, विकास र समृद्धि नै हुन्छन्।

यहाँहरूले राजसंस्था, हिन्दु राष्ट्र सङ्घीयताको खारेजीको एजेन्डा निरन्तर उठाउँदै आउनुभएको थियो। यसको विरोधीहरू (गणतन्त्रवादी) लाई चाहिँ राम्रो मत आउने, अनि यो एजेन्डा बोक्ने पार्टीलाई मत नआउने। साँच्चै जनताले चाहेको भए मत पनि त्यही खालको आउनुपर्ने नि, होइन ?

सुरुमा जनताको अपार जनसमर्थन थियो। तर त्यसलाई हामीले कायम राख्न सकेनौँ। नेतृत्व ठीक भएन। नेतृत्व ठीक नभएपछि मानिसहरूले पत्याउन छाडे।

राप्रपाभित्र नेतृत्वको झगडा, टुटफुट निरन्तर चलिरहन्छ, किन होला?

राप्रपामा मात्र होइन, सबै पार्टीहरूमा टुटफुट भइरहन्छ। कांग्रेस, एमाले, माओवादी सबैमा टुटफुट भइरहन्छ। यो नौलो विषय होइन। व्यक्तिगत टकराव, गुटबन्दी, भागबन्डाजस्ता धेरै कुराहरू छन्। यो हाम्रो पार्टीमा मात्र होइन, नेपालको राजनीतिमै यस्तै छ।

रास्वपाले करिबकरिब दुई तिहाइको नजिक सिट ल्याएर सरकार बनाएको छ। १०० दिन पनि कटिसक्यो। सरकारको गतिविधि रास्वपाको उदयलाई कसरी लिनुभएको ?

यदि हामीले समयमै राम्रो काम गर्न सकेको भए र पार्टीलाई राम्रोसँग उठान गर्न सकेको भए, आज रास्वपाको ठाउँमा हामी हुन्थ्यौँ। तर दुर्भाग्यवश, हामीले ती कामहरू गर्न सकेनौँ। जनताले नयाँ कुरा चाहेका थिए। त्यो नयाँ कुरा खोज्दा उनीहरूले हामीलाई पत्याएनन् र नयाँ पार्टी रोजे। त्यसमा रास्वपाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो र उहाँहरू आउनुभयो।

रास्वपाको उत्कृष्ट चुनावी परिणाम आयो। यसको पछाडि पुराना सत्तासीन पार्टीहरूलेविदेशीको हात, सेना वा अमेरिकाको सहयोगभन्ने आरोप पनि लगाउँछन्। तपाईँलाई चाहिँ के लाग्छ?

म आफैँले पनि लामो समय राजनीतिमा काम गरेको छु। त्यसैले अमेरिका वा विदेशी हात भन्नु यी सबै ‘हावा’ कुराहरू हुन्। नेपालमा एमाले, कांग्रेस वा जुनसुकै पार्टीले जुन ढङ्गले सत्ता चलाए, उनीहरूले कहिल्यै जनताको हित चाहेनन्। केवल सत्ताको छिनाझपटी र सत्तामा कसरी पुग्ने भन्नेमा मात्र ध्यान दिए। जनताले विकल्प खोजेकै कारण यो परिणाम आएको हो।

अहिले रास्वपाले पनि लगभग उही पुराना पार्टीहरूकै जस्तो गतिविधि दोहोर्याउने हो कि भन्ने आशंका देखिन थालेको नि, ?

परम्परागत संरचना र विकृतिहरूलाई तोड्न अलि गाह्रै पर्छ। जुन ढङ्गले भ्रष्टाचार मौलाएको छ, ती कुराहरू सुधार्न समय लाग्छ। तैपनि रास्वपाको गतिविधिमा पनि ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तो उत्साहजनक स्थिति अहिले देखिँदैन। सुरुमा जनतामा जुन उत्साह थियो, त्यो बिस्तारै कम हुँदै गएको छ। यसअघि माओवादी आउँदा पनि मानिसहरूमा ठूलो उत्साह थियो, तर उनीहरू पनि संसदीय राजनीति र सत्ता सञ्चालनकै खेलमा अलमलिए। जनताको हितभन्दा ‘प्रधानमन्त्री कसरी बन्ने र सत्ता कसरी टिकाउने’ भन्नेमै राजनीति सीमित भयो। रास्वपा पनि त्यस्तै हुन सक्छ।

रास्वपाले त “हामी सुशासनको एजेन्डा लिएर आएका हौँ, त्यसैले धमाधम भ्रष्टाचारीहरूलाई थुनिरहेका छौँ” भनिरहनुभएको छ?

उहाँहरूले केही गर्नै नखोज्नुभएको त म भन्दिनँ। तर विधि र विधानअनुसार सत्ता सञ्चालन हुनुपर्छ। पहिला थुन्ने अनि बल्ल कुरा सुन्ने वा प्रतिशोध लिने भावनाबाट काम गर्नु राम्रो होइन। विगतमा आफूमाथि जे भयो, सत्तामा आएपछि अरूमाथि पनि त्यस्तै प्रतिशोध साध्नु गलत हो। आफूले राम्रो गरेर देखाउनुपर्छ। जहाँसम्म थुन्ने र अदालतले छाड्ने कुरा छ, देशमा अदालत एउटा महत्त्वपूर्ण निकाय हो। अदालतमा नियुक्ति कसरी हुन्छ र के हुन्छ भन्ने कुरा त सञ्चार माध्यम र सर्वसाधारण सबैलाई जगजाहेर नै छ।

सरकारले धेरै गर्नुपर्ने काम पनि गरेको छैन, र धेरै गर्न नहुने काम पनि गरेको छ। तैपनि यसलाई साह्रै नराम्रो पनि भन्न सक्दिनँ म चाहिँ।

अझै आशा गर्ने ठाउँ छ?

आशा नगरी के गर्ने त? लोकतन्त्रमा पाँच वर्ष त कुर्नै पर्छ, होइन र? त्यसैले मैले के भनेँ भने— हेरौँ न त, के हुन्छ।

एउटा आशङ्का के भने, खासगरी नेपालमा अहिलेको अन्तर्राष्ट्रिय राजनीतिको छिटा पनि पर्छ। विदेश सम्बन्धमा राम्रो गर्न सक्दैन कि, त्यसले गर्दा विदेशी हस्तक्षेप झन् बढ्ने हो कि भन्ने आशङ्का गरिन्छ। तपाईँ धेरै देश–विदेश घुमिरहनुहुन्छ, प्रतिनिधित्व गर्दै विभिन्न देश जानुभएको छ।

उहाँहरूसँग अन्तर्राष्ट्रिय अनुभव कम होला। तथापि त्यति धेरै अनुभव कम छ भन्ने र त्यस्तो विधि देखिएको पनि छैन, म त देख्दिनँ पनि। अहिलेको भूमण्डलीकरण (ग्लोबलाइजेसन) को दुनियाँमा कसैले हस्तक्षेप गरिहाल्छ वा कसैको इशारामा नाचिहाल्नुपर्छ भन्ने पनि छैन। आफ्नो देशको सार्वभौमसत्ता पनि त ठूलो कुरा हो। त्यसैले तपाईँले भनेजस्तो जटिल कुरा छैन।

भनेपछि हामी अझै पनि अहिलेको रास्वपा नेतृत्वको सरकारप्रति आशावादी हुन सक्छौँ?

म त छु। मैले त हेर्नुपर्छ नै भन्छु। कतिपय कुरा मिलेको छैन, कतिपय कुरामा मेरो र हाम्रो पनि असहमति छ।

नियत ठीक छ, प्रक्रिया कतिपय नमिलेको हो?

कुनै ठाउँमा नियत पनि ठीक छैन।

अलिकति फरक प्रसङ्गतर्फ लागौँ। तपाईँ राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो। अहिलेको सरकारले ट्रेड युनियनहरूमाथि प्रतिबन्ध जस्तै भनौँ न, गतिविधिमा रोक लगायो। यसलाई चाहिँ कसरी हेर्नुभएको छ?

एउटा कुरा के हो भने, सत्तामा आउने बित्तिकै “म जे पनि गर्छु“ भन्ने दुराशय राख्नु राम्रो कुरा होइन। ऐन र संविधानको पालना गर्न सक्नुपर्यो। युनियन खोल्ने अधिकारहरूबाट वञ्चित गर्ने गरी जुन अध्यादेश वा निर्णय ल्याएर विरोध गरियो, त्यसको हामीले सशक्त रूपमा विरोध गरेका छौँ। हाम्रा सम्बद्ध अन्तर्राष्ट्रिय महासङ्घहरूलाई पनि विरोध गर्न लगाएका छौँ र उहाँहरूले पनि विरोध गर्नुभएको छ। अहिले यो मुद्दा पनि चलिरहेको छ।

हो, कतिपय नकारात्मक कुराहरू पनि छन्, त्यसलाई व्यवस्थित गर्न नयाँ नियम–कानुन ल्याउनुपर्ने ठाउँमा अधिकार नै कुण्ठित गर्छु भन्नु दुर्भाग्यपूर्ण कुरा हो। यसले राम्रो परिणाम ल्याउँदैन।

कमजोरी ट्रेड युनियनका नेता ट्रेड युनियनबाट पनि भएको थियो नि, सुधार गर्नुपर्ने थियो नि?

तपाईँले भनेजस्तै ट्रेड युनियनहरूमा पनि विकृतिहरू छन्। तर बच्चाले बदमासी गर्यो भन्दैमा उसलाई मारिहाल्ने त होइन नि! उसका विकृतिहरूलाई बन्देज गरेर, नियमन गरेर व्यवस्थित ढङ्गले लानुपथ्र्यो।

ट्रेड युनियनले राम्रा काम पनि गरेका छन्, म त ’सबै नराम्रो हो’ भन्न सक्दिनँ। श्रमजीवी मानिसहरूको मौलिक अधिकारलाई त्यसरी कुण्ठित गर्न मिल्दैन। त्यो अन्तर्राष्ट्रिय श्रम संगठन को सिद्धान्तविपरीत पनि छ। त्यसैले उहाँहरूले जुन गतिविधि गर्नुभएको छ, यसले राम्रो परिणाम ल्याउँदैन।

सरकारलाई तपाईँको के–कस्ता सुझावहरू छन्?

उत्तर:
सरकारले कुनै पनि काम गर्दा सोचविचार पुर्‍याएर गर्नुपर्छ भन्ने मेरो सुझाव छ। जनताका तत्कालीन र आवश्यक आवश्यकताहरू तत्काल पूरा गरिनुपर्छ। शिक्षामा लगाइएको कर फिर्ता लिने काम त भयो, तर स्वास्थ्य क्षेत्रमा अझै धेरै जटिल समस्याहरू छन्। स्वास्थ्य बिमा सम्बन्धी रोकिएका कामहरूलाई अगाडि बढाउनुपर्छ। नेपालमा सामान्य मजदुरहरूलाई उपचार गर्न निकै गाह्रो छ। स्वास्थ्यको व्यापार भइरहेको छ। त्यसैले सरकारले स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ।

अन्त्यमा छौँ। जाँदाजाँदै हाम्रा पाठकहरूलाई के भन्न चाहनुहुन्छ?

पाठकहरूलाई मेरो अनुरोध के छ भने— मुलुकमा राजा नहुँदा के थियो र आज के भइरहेको छ, त्यो ध्यान दिनुहोला। मुलुक अहिले अभिभावकविहीनजस्तै बनेको छ, र हाम्रो अभिभावक भनेको राजसंस्था र सनातन हिन्दु धर्म हो। यसलाई जोगाउन जनताले साथ दिनुपर्छ।

हामी धवल शमशेर राणा र दुर्गा प्रसाईँजस्ता नेताहरूसँग मिलेर नयाँ पार्टी खोल्दै छौँ। पुराना पार्टीहरूभन्दा नयाँ पार्टीले केही गरेर देखाउँछ भन्ने विश्वासका साथ हामीलाई साथ दिनुहुनेछ भन्ने आशा छ।