सप्तरीको राजविराज र बोदेबरसाइनमा जारी निषेधाज्ञा पूर्ण रूपमा हटाइयो

जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको साउन १८ गते बसेको बैठकको निर्णयबमोजिम निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो।

यसअघि राजविराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा अब पूर्ण रूपमा हटाइएकाले स्थानीय जनजीवन सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ।