देउवाले भने– मलाई अब केही हुनु छैन, पार्टीका लागि ज्यान दिन तयार छु

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाउने पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन् ।
देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले आफू पाँच पटक प्रधानमन्त्री भइसकेकाले अब व्यक्तिगत रूपमा पाउन केही बाँकी नरहेको उल्लेख गर्दै पार्टीप्रति समर्पित भएर लाग्नुपर्ने धारणा राखे ।

‘पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,’ देउवाले भने, ‘जुन पार्टीले मलाई पाँच पटक प्राइममिनिस्टर बनायो, त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ ।’ अर्काे प्रसंगमा देउवाले कांग्रेस नेपाली जनताले निर्माण गरेको पार्टी भएकाले कसैले पनि हाइज्याक गर्न नसक्ने बताए । कांग्रेसलाई जनताको पार्टीका रूपमा चित्रण गर्दै उनले जनताका प्रतिनिधिबाहेक अरू कसैले पार्टीमाथि कब्जा जमाउन नसक्ने जिकिर गरे ।