तपाईं अहिले ईसाई (क्रिश्चियन) धर्मका पास्टरको भूमिकामा हुनुहुन्छ। तपाईं कसरी ईसाई धर्ममा जोडिनुभयो?
क्रिश्चियन धर्ममा आउनुअघि म बोन धर्मको अनुयायी थिएँ। मेरा हजुरबुबा र बुबा दुवै झाँक्री हुनुहुन्थ्यो। बोन धर्म मान्नेहरूले प्रकृतिको पूजा गर्छन्। हामी पनि प्रकृतिको पूजा गर्थ्यौँ र विभिन्न धार्मिक अनुष्ठान तथा पाठहरूमा सहभागी हुन्थ्यौँ। ती पाठहरूमा सृष्टिकर्ताले सृष्टि गर्नुभयो भन्ने कुरा उल्लेख हुन्थ्यो।
बाल्यकालदेखि नै बुबा र हजुरबुबासँग बसेर धार्मिक गतिविधिमा सहभागी हुँदा मलाई एउटा प्रश्नले सधैँ घच्घच्याइरहन्थ्यो—हामीले सृष्टिकर्ताको कुरा त गर्छौँ, तर त्यो सृष्टिकर्ता वास्तवमा को हुनुहुन्छ?
पछि मैले सुसमाचार सुन्ने अवसर पाएँ। बाइबल अध्ययन गर्ने क्रममा मैले सृष्टिकर्ता परमेश्वरबारे स्पष्ट रूपमा बुझ्ने मौका पाएँ। संसारमा भएका सबै कुरा उहाँकै सृष्टि रहेछन्। मानव शरीर पनि उहाँकै सृष्टि रहेछ, र परमेश्वरले आफ्नो आत्मा फुकिदिनुभएपछि मात्रै मानिस जीवित प्राणी भएको रहेछ भन्ने कुरा मैले बुझेँ।
त्यसपछि मलाई सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वास भयो। त्यसैले बाइबलले चिनाएको सृष्टिकर्ता परमेश्वरलाई विश्वास गर्नु नै सबैभन्दा सही र सर्वोत्तम मार्ग रहेछ भन्ने निष्कर्षमा पुगेँ।
बाइबलले सिकाएअनुसार, सृष्टिपछि परमेश्वरले मानवजातिलाई सुख, शान्ति र समृद्धिका साथ संसारमा राख्नुभएको थियो। तर संसारमा दुष्टता बढ्दै गएपछि मानव जीवनमा अशान्ति फैलियो। त्यसपछि मानवजातिलाई फेरि शान्ति र परमेश्वरसँगको सम्बन्धमा पुनःस्थापित गर्न सृष्टिकर्ता परमेश्वरले आफ्ना एकमात्र पुत्र प्रभु येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो। उहाँको बलिदानद्वारा मानिसलाई परमेश्वरसँग पुनः मिलाप गराइयो।
जसले प्रभु येशू ख्रीष्टमार्फत पिता परमेश्वरलाई विश्वास गर्छ, उसको जीवनमा शान्ति र आनन्द प्राप्त हुन्छ। साथै, यो नश्वर शरीर माटोमा विलीन भएपछि पनि परमेश्वरले दिनुभएको आत्मा उहाँकै उपस्थितिमा फर्कने मार्ग प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भन्ने शिक्षा मैले पाएँ। यही विश्वास र आत्मिक अनुभूतिका कारण म पूर्ण रूपमा क्रिश्चियन धर्ममा समर्पित भएँ।
तपाईंले बुझेर क्रिश्चियन धर्म अपनाउनुभएको बताउनुभयो। तर क्रिश्चियन समुदायमाथि एउटा आरोप लाग्ने गर्छ—विदेशी डलर वा आर्थिक लाभको लोभमा धर्म परिवर्तन गरेका हुन् भन्ने। के यो सत्य हो?
मानिसहरूले विभिन्न कुरा भन्ने गरेका छन्। तर मैले कसरी क्रिश्चियन भएँ भन्ने कुरा मैले स्पष्ट रूपमा बताइसकेको छु। मैले पाएको आत्मिक शिक्षा र विश्वासकै कारण म क्रिश्चियन बनेँ।
म गाउँमै हुर्किएको मान्छे हुँ। करिब २०–२५ वर्षसम्म गाउँमै बसेँ। क्रिश्चियन बनेपछि पनि ८–९ वर्षसम्म गाउँमै रहेर परमेश्वरको सेवा गरेँ, चर्चका गतिविधिमा सहभागी भएँ र धार्मिक सेवामा सक्रिय रहेँ। त्यो अवधिमा मैले कहिल्यै पनि डलर, विदेशी पैसा वा आर्थिक प्रलोभनको कुरा सुनेको थिइनँ।
पछि अध्ययनका लागि काठमाडौं आएपछि, सञ्चार माध्यमको पहुँच बढेसँगै मात्रै क्रिश्चियनहरू डलर खान्छन्, यो विदेशी धर्म हो भन्ने आरोपहरू सुन्न थालेँ। त्यसअघि त्यस्तो कुनै अनुभव वा जानकारी मलाई थिएन।
अर्को आरोप पनि लगाइन्छ। विशेष गरी पिछडिएका, अशिक्षित र गरिब समुदायलाई आर्थिक सहयोग, उपचार वा शिक्षाको प्रलोभन देखाएर धर्म परिवर्तन गराइन्छ भन्ने भनाइ छ। यसबारे तपाईंको धारणा के छ?
जहाँ गरिब, दुःखी र विपन्न समुदाय हुन्छन्, त्यहाँ उनीहरूको दुःख बुझ्न र सहयोग गर्न दयालु मानिसहरू नै पुग्छन्। धार्मिक आस्था भएका मानिसहरू पनि सेवा र सहयोगका लागि त्यहाँ जान्छन्। आफ्नो कमाइ, माया र दया बाँड्दै गर्दा त्यसलाई धर्म परिवर्तन गराएको भनेर आरोप लगाउनु उचित होइन।
क्रिश्चियन समुदायले प्रेम र सेवामा विश्वास गर्छ। उदाहरणका लागि, तपाईंको घरअगाडि कुनै भोको वा लत्ताकपडा नभएको मानिस आयो भने तपाईंले पनि अवश्य सहयोग गर्नुहुन्छ। त्यसरी कसैले दया र प्रेम देखाएको आधारमा ‘धर्म परिवर्तन गरायो’ भन्नु उचित हुँदैन। मेरो विचारमा यस्तो आरोप प्रायः धार्मिक सहिष्णुताको भावना नभएका व्यक्तिहरूले लगाउने गर्छन्।
धर्मकै कुरा गर्दा हाम्रो संविधानमा धर्मनिरपेक्षता छ। तर त्यो व्यवहारमा कत्तिको अभ्यास हुन सकेको छ ?
धर्मनिरपेक्षताको बारेमा अलिकति गहिरिएर उत्तर दिनुपर्दा—संविधानमा धर्मनिरपेक्षता लेखिएको छ, तर धार्मिक मानिसहरूको त्यसमा हात छैन। राजनीतिक दलहरूले आफ्नो उद्देश्य पूरा गर्न र नेपाली जनताको आँखामा छारो हाल्नका लागि यो गरेका हुन्। वास्तवमा जुन धार्मिक मानिसहरू हुन्, उनीहरूको संरक्षणका लागि यो संविधानले काम गरेको छैन। हामी क्रिश्चियन समुदायका हौँ, संविधानले हाम्रो रक्षा गरेको छैन। तर संविधान हाम्रो पक्षमा छैन भनेर नेपाली क्रिश्चियनहरू निराश छैनन्; किनभने सृष्टि गर्ने परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भन्ने विश्वास गर्ने समुदाय भएकाले फरक पर्दैन। अल्पसंख्यक धार्मिक समुदायको पक्षमा यो संविधानले काम गरेको छैन;
संविधान लेखिएको छ, तर कार्यान्वयन भएको छैन ?
संविधानमा धार्मिक स्वतन्त्रता भने पनि वा धर्मनिरपेक्षता भने पनि धर्म परिवर्तन गर्न पाइने छैन भनेर कानुनहरूमा लेखिएको छ। अन्य धर्म परिवर्तन गराउन त पाइँदैन, त्यो त अपराध हुन्छ। अधिकांश यो समाजमा कि हिन्दू, कि बुद्ध धर्मावलम्बी नै धेरै हुनुहुन्छ। पछि कोही क्रिश्चियन बन्यो भने त उसलाई धर्म परिवर्तन गराएको आरोप लाग्ने भयो। यो विषयले एकतिरबाट हेर्दा धार्मिक स्वतन्त्रता छ, तर अहिले तपाईँले कसैलाई क्रिश्चियन बन भन्नुभयो भने त धर्म परिवर्तन गराएको आरोपमा कारबाही गर्न मिल्छ, .हामी क्रिश्चियन समुदायलाई, विशेष गरेर पास्टरहरूलाई नै टार्गेट गरेर यो बुँदा बनाइएको हो भन्छौँ। “धर्म परिवर्तन गराउनेलाई कारबाही हुनेछ“ भनेर लेखिएको यो बुँदा सरासर क्रिश्चियन समुदायका अगुवाहरूलाई टार्गेट गरेर लेखिएको हो। क्रिश्चियनहरूले धर्म परिवर्तन गराउँछन् भन्ने जुन मानसिकता छ—नेपाली धार्मिक समुदायमा अलिअलि हुनु स्वाभाविकै भयो, तर नेपालको उच्च तहमा रहेका र राज्य सञ्चालन गर्ने व्यक्तिहरूको दिमागमा समेत क्रिश्चियन समुदायलाई भेदभाव गर्नुपर्छ भन्ने मानसिकता छ। भोलि गएर उनीहरूलाई कहीँ पनि केही दोष लाउने ठाउँ पाएनन् भने धर्म परिवर्तन गराएको प्रमाण जुटाएर भए पनि कारबाही गर्नुपर्छ भन्ने मानसिकताका कारण संविधानमा त्यस्तो लेखिएको हो।
त्यसो भए त बाइबल दिन पनि मिलेन? बाइबल दियो भने पनि धर्म परिवर्तन गराउनका लागि दियो भन्ने आरोप लाग्छ होला?
“मलाई बाइबल दियो र मलाई धर्म परिवर्तन गरायो“ भनेर पासो थाप्न पाइयो, । तर खुसीको कुरा के छ भने, हामीले सत्य कुरा बताउने हो। बाइबलमा लेखिएका र भनिएका कुराहरू के हुन् भनेर सत्य कुरा भन्दै गर्दा अहिलेसम्म कसैले पनि “हामीलाई धर्म परिवर्तन गरायो भनेर आरोप लगाएको छैन।
मिसन अस्पतालदेखि कैयौँ शिक्षा र स्वास्थ्य क्षेत्रमा त “लगानी गर“ भनेर राज्यले अनुरोध गरेको पनि छनि होईन त ?
मैले अघि पनि हजुरलाई भनिसकेँ—कोही कसैलाई नितान्त सहयोगको आवश्यकता परेको छ भने पवित्र भावनाले सेवा गर्न पाइयो र सहयोग गरिदिनुस् पनि भन्न पाइयो। त्यो एकदमै समाजसेवामा गरिने कुरा भयो। साथसाथै भौतिक रूपमा, वैचारिक रूपमा अत्यन्त शिक्षित समुदाय र राष्ट्रले एउटा अर्को राष्ट्रलाई त सहयोग गर्न पाइयो नि।
यी मिसनरी विद्यालयहरू त राजा महेन्द्रकै अनुरोधमा नेपाल आएका हुन्, होइन?
हो, राजा महेन्द्रकै पालामा आएका धेरै विद्यालय आज पनि उत्कृष्ट मानिन्छन्। तिनै विद्यालयमा अध्ययन गरेका धेरै व्यक्तिहरू आज देशका उच्च पदमा पुग्नुभएको छ।
मैले जोड दिन खोजेको कुरा के हो भने, क्रिश्चियन समुदायमा आफूले सक्ने सहयोग अरूलाई गर्ने भावना हुन्छ। यसको आधार उनीहरूको शिक्षा हो। यदि हामीलाई सृष्टि गर्ने सृष्टिकर्ता परमेश्वरको आदर गर्छौँ भने उहाँका सबै सृष्टिलाई पनि प्रेम, सम्मान र सहयोग गर्नुपर्छ भन्ने शिक्षा बाइबलले दिन्छ।
त्यसैले क्रिश्चियन समुदायमा आफूसँग भएको स्रोत, ज्ञान वा क्षमता छिमेकी र समाजको हितमा प्रयोग गर्ने संस्कार छ। नेपाललाई आवश्यकता पर्दा पनि कुनै स्वार्थका लागि होइन, मानवताका आधारमा सहयोग गर्ने भावना राखिन्छ। यही कारणले नेपालमा क्रिश्चियन मिसनद्वारा सञ्चालित धेरै विद्यालय र स्वास्थ्य संस्थाहरूले गुणस्तरीय सेवा दिएका छन्।
त्यस्तो सेवाको प्रतिफल वा श्रेय क्रिश्चियन समुदायका अगुवाहरूले आफ्ना लागि खोज्दैनन्; त्यो सबै महिमा आफूले विश्वास गरेको परमेश्वरलाई जाओस् भन्ने उनीहरूको चाहना हुन्छ।
क्रिश्चियन समुदायभित्र पनि मुख्य रूपमा दुई समूह छन्—रोमन क्याथोलिक र प्रोटेस्टेन्ट। यसको फरक के हो?
यो विषयलाई छोटो समयमा विस्तृत रूपमा व्याख्या गर्न कठिन हुन्छ। तर संक्षेपमा भन्नुपर्दा, संसारका सृष्टिकर्ता परमेश्वरले मानवजातिलाई शान्ति दिन आफ्ना पुत्र प्रभु येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो। उहाँमा विश्वास गर्ने विश्वासीहरूको समुदायलाई आजको भाषामा मण्डली वा चर्च भनिन्छ। प्रारम्भिक चर्च पहिलो शताब्दीमा स्थापना भएको थियो।
पछि विभिन्न धार्मिक अभ्यास र सिद्धान्तमा मतभेद उत्पन्न भएपछि रोमन क्याथोलिक परम्पराको विकास भयो। त्यसपछिका केही सुधार आन्दोलनका क्रममा बाइबलको शिक्षाअनुसार चर्चलाई पुनःस्थापित गर्नुपर्छ भन्ने विश्वास राख्ने समूहलाई प्रोटेस्टेन्ट भनियो।
यद्यपि, यी परम्परागत विभाजनभन्दा माथि उठेर, प्रभु येशू ख्रीष्टमार्फत पिता परमेश्वरको आराधना गर्ने र उहाँमा विश्वास गर्ने सबैलाई व्यापक अर्थमा क्रिश्चियन नै भनिन्छ।
तपाईंहरूको अनुमानअनुसार अहिले नेपालमा क्रिश्चियन समुदायको जनसंख्या कति छ?
यस विषयमा आधिकारिक र एकरूप तथ्याङ्क उपलब्ध छैन। सरकारी तथ्याङ्क पूर्ण रूपमा स्पष्ट छैन, र विभिन्न क्रिश्चियन महासङ्घ तथा संस्थाहरूले सङ्कलन गरेका तथ्याङ्कमा पनि केही फरक–फरक विवरण पाइन्छन्। त्यसैले यति नै प्रतिशत वा यति नै संख्या छ भनेर ठोकुवा गर्न कठिन छ।
अनुमानअनुसार नेपालमा क्रिश्चियनहरूको संख्या करिब १५ लाखदेखि २० लाखसम्म हुन सक्छ। केहीले ३० लाखभन्दा बढी भएको दाबी पनि गर्छन्, तर मेरो बुझाइमा अहिले करिब २० लाख हाराहारीमा क्रिश्चियनहरू नेपालमा छन्।
अहिले तपाईंहरू कहाँ–कहाँ र कस्ता सेवामा संलग्न हुनुहुन्छ? तपाईं आफैँ कुन क्षेत्रमा सक्रिय हुनुहुन्छ?
हाम्रो मुख्य उद्देश्य मानिसहरूलाई शान्ति, प्रेम र मेलमिलापको सन्देश दिनु हो। अहिले हामी धादिङ, रसुवा, नुवाकोट तथा काठमाडौंका विभिन्न स्थानमा सेवा गरिरहेका छौँ।
हामी बाइबलमा आधारित शान्ति, आनन्द र प्रेमको सन्देश सुनाउने काम गर्छौँ। परमेश्वरले मानवजातिको उद्धारका लागि आफ्ना पुत्र प्रभु येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो। उहाँले प्रेम, सत्य र उद्धारको सन्देश दिनुभयो। तर उहाँलाई अस्वीकार गरी क्रुसमा चढाइयो। ख्रीष्टीय विश्वासअनुसार उहाँ तेस्रो दिनमा पुनर्जीवित हुनुभयो र दुष्टतामाथि विजय प्राप्त गर्नुभयो।
त्यसैले उहाँको बलिदानलाई सम्झँदै उहाँको शिक्षाअनुसार जीवन बिताउन सबैलाई प्रेरित गर्ने काम हामी गरिरहेका छौँ।
पछिल्लो समय धादिङको रुबी भ्यालीमा क्रुस राख्ने विषयमा विवाद भयो। त्यसपछि सुनसरीमा पनि धार्मिक विवाद देखियो। यी घटनालाई तपाईं कसरी हेर्नुहुन्छ?
मेरो विचारमा यी घटनालाई धार्मिक द्वन्द्व भन्नु उचित हुँदैन। बाहिरबाट हेर्दा धर्म मान्ने समुदायहरूबीच मतभेद वा विवाद भएको जस्तो देखिए पनि वास्तविक धार्मिक व्यक्तिले अर्को धर्म वा समुदायप्रति घृणा, हिंसा वा आक्रमण गर्न सक्दैन।
धर्मको मूल शिक्षा प्रेम, दया, करुणा र सहिष्णुता हो। त्यसैले सच्चा धार्मिक व्यक्तिहरूबीच द्वन्द्व हुनुपर्ने कारण नै हुँदैन।
धर्मले त प्रेम, शान्ति र मेलमिलापकै सन्देश दिन्छ। तर विश्वका धेरै ठूला द्वन्द्व धर्मकै नाममा भएका छन्। नेपालमा पनि त्यस्तो अवस्था आउला कि भन्ने चिन्ता व्यक्त गरिन्छ। तपाईंको धारणा के छ?
मेरो विचारमा यसको मुख्य जिम्मेवारी धार्मिक अगुवाहरूको हो। आफूलाई धर्मगुरु भन्ने व्यक्तिले धर्मको वास्तविक मर्म—दया, प्रेम, करुणा र सहिष्णुता—समाजलाई स्पष्ट रूपमा बुझाउनुपर्छ।यदि धर्मगुरुहरूले नै ‘हाम्रो धर्ममाथि हस्तक्षेप भयो’ वा ‘हाम्रो समुदायमाथि आक्रमण भयो’ भन्ने भावनात्मक अभिव्यक्तिबाट समाजलाई उत्तेजित गर्ने काम गर्छन् भने धार्मिक सद्भाव कमजोर हुन्छ।
त्यसैले यस्ता घटनालाई धर्महरूबीचको युद्ध भन्नुभन्दा पनि गलत बुझाइ, असहिष्णुता र अहङ्कारबाट उत्पन्न भएको विवादका रूपमा बुझ्नुपर्छ।धर्मको नाममा एकअर्काप्रति आरोप, घृणा वा वैमनस्य नराखौँ। धर्मले कहिल्यै पनि द्वेष, झगडा वा प्रतिशोध सिकाउँदैन। धर्ममा आस्था राख्ने मानिस प्रेम, दया, करुणा र बाँडचुँडको भावनाले प्रेरित हुनुपर्छ।
त्यसैले जहाँ–जहाँ धार्मिक तनाव देखिएको छ, त्यसलाई धर्मको वास्तविक शिक्षासँग जोडेर होइन, गलत व्यवहारका रूपमा बुझ्नुपर्छ।म सबै धार्मिक समुदायलाई आग्रह गर्न चाहन्छु—हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन वा अन्य जुनसुकै धर्मका अनुयायी भए पनि एकअर्काप्रति सम्मान र समान दृष्टिकोण राखौँ।
विशेष गरी क्रिश्चियन समुदायलाई म भन्न चाहन्छु, यदि कुनै क्रिश्चियनले अर्को धर्म वा समुदायलाई प्रेम गर्न, सम्मान गर्न वा आदर गर्न सक्दैन भने उसले ख्रीष्टको शिक्षालाई पूर्ण रूपमा आत्मसात् गरेको भन्न सकिँदैन। किनभने बाइबलको मुख्य शिक्षा नै सृष्टिकर्ता परमेश्वरलाई सम्पूर्ण हृदय, प्राण र शक्तिले प्रेम गर्नु र आफ्ना छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु हो।
त्यसैले कुनै पनि धार्मिक समुदायले अर्को समुदायप्रति दया, प्रेम र सम्मान देखाउन सकेन भने त्यो धर्मको वास्तविक मर्मअनुसारको जीवन होइन। सबै नेपालीले धर्मको सही अर्थ बुझेर धार्मिक तथा नैतिक जीवन जिउन प्रयास गरून् भन्ने मेरो आग्रह छ।
अन्त्यमा हाम्रा दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ?
मेरो कामना नेपालमा शान्ति कायम रहोस्, नेपालीहरू समृद्ध बनून् भन्ने हो। यदि हामी धर्मको पक्षमा बोल्छौँ भने सबैभन्दा पहिले आफ्नो जीवनमा त्यसको अभ्यास गर्नुपर्छ।
हरेक नेपालीले धार्मिक र नैतिक आचरण अपनाउन सके समाजमा शान्ति स्थापना गर्न छुट्टै प्रयास गर्नुपर्ने अवस्था रहँदैन। धार्मिकताले मानिसलाई असल बनाउँछ, समाजलाई सभ्य बनाउँछ र राष्ट्रलाई उन्नत बनाउँछ।
त्यसैले सम्पूर्ण नेपालीहरूले धार्मिक तथा नैतिक जीवन अपनाउने प्रयास गरून्, र नेपाल तथा नेपालीले दिगो शान्ति र समृद्धि प्राप्त गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्दछु।















