बोडेको सुकुमबासी होल्डिङ सेन्टरमा एक जना मृत फेला

भक्तपुरको बोडे स्थित सुकुमबासी होल्डिङ सेन्टरमा एक जना मृत भेटिएका छन् । कृषि तालिम केन्द्र बोडेको होल्डिङ सेन्टरमा राखिएका ५७ वर्षीय हिरालाल पासवान बिहीबार मृत भेटिएका हुन् ।

बारा घर भएका पासवान कोठाको फ्यानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले बताए ।

कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा उनको शव भेटिएको डीएसपी कार्कीले जानकारी दिए । प्रहरीले घटनास्थलको मुचुल्का उठाउँदै छ । उनको शव पोस्टमार्टमका लागी केएमसी अस्पतालमा पठाइने डीएसपी कार्कीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।