नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले सो जानकारी दिएको हो । सो अवसरमा एमालेको वागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख गरी जम्मा २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो ।
उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रिय तहबाटै विपद् व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरिने बताए । राहत वितरणको मोडालिटीबारे चर्चा गर्दै अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ हुनुभन्दा पीडितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै थन्किने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ । हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्याउनु हो ।’
अध्यक्ष ओलीले राहत र पुनस्र्थापनाका कार्यलाई प्रभावकारी बनाउन कुन माध्यमबाट वास्तविक पीडितसम्म छिटो पुग्न सकिन्छ, पार्टीले सोही बाटो अवलम्बन गर्ने स्पष्ट पारे । उनले विपद्को यस घडीमा सबै पक्षलाई जिम्मेवार भई राहत कार्यमा जुट्न समेत आग्रह गरे ।

















