राष्ट्रिय सभामा कानुनमन्त्री गौतमले मागिन् माफी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो अभिव्यक्तिप्रति राष्ट्रिय सभामा माफी मागेकी छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भदौ २३ गते राष्ट्रिय सभाको भूमिकाबारे दिएको अभिव्यक्तिले कसैलाई चोट पुगेको भए क्षमा गरिदिन आग्रह गरेकी हुन्। यसअघि मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बलियो उपस्थिति रहे पनि राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा कानुन निर्माण प्रक्रिया सहज नभएको बताएकी थिइन्। उनको उक्त भनाइप्रति राष्ट्रिय सभाका सांसदहरूले आपत्ति जनाएका थिए। नेकपाकी सांसद रेणु चन्दले मन्त्रीको भनाइले राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै माफी माग्नुपर्ने बताएकी थिइन्।

जवाफमा मन्त्री गौतमले आफ्नो भनाइलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरिन्। प्रतिनिधिसभाबाट पारित कानुन राष्ट्रिय सभाबाट हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने संवैधानिक प्रक्रियाका कारण आफूले प्रक्रिया जटिल भएको बताउन खोजेको उनको स्पष्टीकरण थियो। ‘मैले बोलेको कुराले कसैलाई चोट पुर्‍याएको छ भने त्यसमा म क्षमाप्रार्थी छु,’ उनले भनिन्।