अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि

अमेरिकाले पृथ्वीको कक्षमा आक्रामक क्षमता भएको अन्तरिक्ष हतियार तैनाथ गरेको पहिलोपटक स्वीकार गरेको छ । अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइन्कले सम्भावित शत्रु आक्रमणबाट अमेरिकी सेनालाई जोगाउन यस्तो क्षमता आवश्यक रहेको बताएका छन् । एयर, स्पेस एन्ड साइबर सम्मेलनमा उनले बदलिँदो सुरक्षा खतरालाई ध्यानमा राख्दै हतियार तैनाथ गरिएको बताए ।

तर हतियारको क्षमता र कहिले कक्षमा पठाइएको हो भन्ने विवरण भने सार्वजनिक गरेनन् । अमेरिकी सैन्य नेतृत्वले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना रहेको बताउँदै आएको थियो ।

भविष्यमा हुने सम्भावित द्वन्द्वका क्रममा अमेरिकी भू–उपग्रहलाई आक्रमण गर्न वा तिनको काममा अवरोध पुऱ्याउन सक्ने क्षमता रुस र चीनले विकास गरिरहेको उनीहरूको दाबी छ।