लिथुआनियाको हवाई क्षेत्रमा छिरेको ड्रोन नेटोले खसाल्यो

नेटोका लडाकु विमानका पाइलटहरूले गएराति लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोन खसालेका छन् । लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले यसको पुष्टि गरेका छन् । अधिकारीहरूका अनुसार सो ड्रोन मंगलबार मध्यरातपछि छिमेकी बेलारुसबाट लिथुआनियाको दक्षिणी क्षेत्र कौनास सहर नजिक प्रवेश गरेको अनुमान गरिएको छ ।

राष्ट्रपति नौसेदाले लिथुआनियाको हवाई क्षेत्रमा भर्खरै प्रवेश गरेको ड्रोनलाई नेटोका लडाकु विमानले नष्ट गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
ड्रोन कहाँबाट आएको हो भन्ने अझै निश्चित भइनसकेको लिथुआनियाको राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रका प्रवक्ताले बताएका छन् । घटनापछि बिहान राजधानी भिल्नियस र आसपासका क्षेत्रमा बासिन्दालाई मोबाइलमा चेतावनी सन्देश पठाउँदै सुरक्षित स्थानमा रहन भनिएको थियो।