आज कागे अष्टमी, कागेश्वर मेला, जात्रा, वृषभानु पुत्री राधाको जन्मोत्सव दिन पनि । अष्टमी व्रत, शक्तिसाली गोरखकालीको विशेष पूजा गर्ने दिन पनि हो । आध्यात्मिक रुपमा हेर्दा आजको पावन दिनको इतिवृत्त महिमा वर्णन गर्न सकिन्न र भौतिक रुपमा हेर्दा संविधान दिवस आश्विन ३, तर विश्व सन्चालन गर्ने विश्वकै संविधान, वेदको उपहास भइरहेको छ, वेदको उपहास जहाँ हुन्छ, मानव निर्मित विधान, संविधानको सही प्रयोग त्यहाँ हुने कुरै हुन्न । जाउँ केहबिेर काठमाडौँको उत्तर पूर्वी क्षेत्र कागेश्वरी तिर
काकेश्वर स्वयम्भू लिङ्गःः
सुन्दर्याख्ये महातीर्थे ब्रह्मतीर्थे ततः पुनः । स्नात्वागमद्विरुपाक्षो यत्र काकेश्वरो विभुः ।। (स्क. हि. ने. अ. ११८ श्लो. २)
स्कन्दकुमार भन्नुहुन्छः शतरुद्रेश्वरदेखि २ कोस पूर्वतिर शतकण्टक पर्वतमा काकेश्वर शिवलिङ्ग रहेको छ । एकपल्ट कैलाशमा शिव पार्वतीका बीच प्रहसन भइरहेको थियो । शिवले पार्वतीलाई भन्नुभयोः “म महादेव हुँ र संसारकै सर्वेसर्वा हुँ, सम्पूर्ण प्राणी लगायत तिमी पनि मेरै अधिनमा छौ, मेरो अधिनमै समय चल्छ र सृष्टि, पालन, संहार मेरै वरिपरि घुमिरहन्छ” । यस्तो कुरा सुनेर पार्वतीलाई चित्त बुझेन र भन्नुभयो, “तपाइँ मानिस जस्तो अहंकारी हुनुभयो” ।
शिव माता पार्वतीदेखि रिसाएर आधा रातमा कैलाश छोडेर शतकण्टक पर्वतमा आई एक पोखरी भित्रको गुफामा लुक्नुभयो । गुफामा पानी पुगेन र व्योम गङ्गालाई बोलाउँदा पानीको छहरा निस्क्यो, त्यही जल पिएर शिव पोखरीभित्र कागको रुप लिएर रहनुभयो । पार्वती पनि कागको रुप लिएर त्यहीँ बस्नुभयो । कैलाशमा शिवको अभाव हुँदा त्रिपुरासुर दैत्यले ब्रह्मा सामु ठूलो तप गरेपछि ब्रह्माबाट असिमित शक्तिको वरदान पाएर उसले स्वर्ग, मत्र्य, पाताल तीन लोकमाथि विजय पायो र देवताहरु शिवजी खोज्दै यसै क्षेत्रमा आइपुगे । ब्रह्मा, विष्णु लगायत इन्द आदि देवताहरु शिवको प्रार्थनामा लागे । कागरुपिणी पार्वतीले भन्नुभयो “शिवजीले कागको रुप लिएर धेरै समयदेखि शतकण्टक पर्वतमा पोखरी ओढारमा परब्रह्मको चिन्तन गरिरहनुभएको छ” ।
पार्वतीको भनाइ अनुसार देवताहरुले श्रीशिवको आराधना गर्दा कागको स्वरुप छोडी उनीहरुलाई भाद्रशुक्ल अष्टमीमा ज्योतिस्वरुप दर्शन दिई भन्नुभयो, “हे देवताहरु हो ! मैले कागको रुप लिएकोले यो काकेश्वर शिवलिङ्ग हुनेछ, यहाँ मेरो पूजा भक्तिपूर्वक गर्नेहरुले इच्छामुताविकको फल पाउनेछन्, तपाइँहरुले मेरो सेवा गरेकाले अब मैले त्रिपुरासुर दैत्यको अन्त्य गरी त्रिपुर दमन गरी स्वर्ग आदि सबै फिर्ता गराउनेछु” । देवताहरुले भोलेबाबाको भव्य आराधना गरे, भव्य रथ तयार गरे, त्रिपुर दहन गरी शिवजीले देवताहरुको इच्छा पूर्ण गराइदिनुभयो ।
नेमुनि विरुपाक्षलाई भन्नुहुन्छः ‘प्राचीन समयमा एक सुस्कोदर चाण्डाल थियो, जे पनि खायो, जे पनि गरो उसले पूर्वजन्ममा, त्यसको प्रभावले सुकेको पेट, रोगी थियो ऊ, पानीको मात्रै आहार थियो तैपनि, शिकारको क्रममा यहाँ आउँदा यहाँको पानी पिएछ, जलको प्रभावले तुरुन्तै ब्रह्मज्ञानी भई शिवपञ्चाक्षरी मन्त्र जप्न थालेछ । धेरै समय त्यहीँ शिवजीमा तल्लीन भएको उसलाई कैलाशबाट शिवगण आई विमानमा राखेर कैलाश लगेछन्, मुक्ति पाएछ उसले !
विरुपाक्षले यहाँ फाल्गुण कृष्ण पञ्चमीमा स्नान गरी काकेश्वर शिवको व्रत आराधना, दीपदान, रात्रिमा जाग्राम सहित व्रत पारायण गरे ।
काकेश्वर हालको काठमाडौँ जिल्ला शिवपुरीको काखैमा, वाग्मती नदी, सुन्दरीतीर्थ सुन्दरीजल पूर्व उच्च भागमा रहेको छ, पोखरीभित्र ओढारमा शिवलिङ्ग रहेको छ । काकेश्वरलाई चलनचल्तीमा कागेश्वरी भन्ने गरिएको छ । हाल सुनको जलप सहितको ठूलो कागको मूर्ति राखिएको छ, स्वच्छ जल धाराहरुबाट आनन्द लिनेको भीड नै देखिन्छ जहिले पनि, भाद्रमा विशेष मेला, महोत्सव हुने गरेको छ, सवारी सहज छ, केही हिँड्नु पर्छ ।
शिवपुरीमै पर्ने अर्को विशेष शिव लिंग छ
शतरुद्रेश्वर स्वयम्भूलिङ्गः
यत्रास्ते शतरुद्रोऽसौ हर्षपूर्णमनोरथः । नृसिँहाख्यमहातीर्थे स्नात्वा गिरिं समारुहत् ।। (स्क. हि. ने. अ. ११७ श्लो. ३)
स्कन्दकुमार अगस्त्यमुनिलाई र विरुपाक्षका प्रश्नमा नेमुनि भन्नुहुन्छः
कार्तिकेश्वरबाट ६ कोसजति पूर्व मृगेन्द्र पर्वत शिखरमा विश्वगङ्गा र ज्येष्टिला दुई नदी उद्गमक्षेत्रमा नृसिँह तीर्थ छ र यसैका नजिक शतरुद्रेश्वर शिवलिङ्ग रहेको छ । अघि श्रविष्णुले हिरण्यकशिपुको वधका लागि नृसिँह अवतार लिनुभयो । दैत्यको वधपछि आराम गर्दै आप्mनो क्रोधलाई शान्त गर्न शिवजीकोे तप गर्ने विचारले यहाँ आउनुभयो । ज्येष्ठ महिना, गर्मीको समय, शुक्ल दशमी, जसलाई दशहरा भनिन्छ, यो क्षेत्रमा भारी डँढेलो लागेको रहेछ, डँढेलो शान्त पारी आपूm बच्न नृसिँहले गङ्गाको आह्वान गर्नुभयो । गङ्गा आई आगो निभाउँदा जेठ महिनाको समय परेकाले गङ्गाको नाम ज्येष्ठिला भई बहन थालिन् । आह्वान भएकी गङ्गा विश्वगङ्गा भइन् । विश्वगङ्गा र ज्येष्ठिलामा स्नान गरी नृसिँहले एक शिला स्थापना गरी त्यसमा शतरुद्रको कल्पना गरी कमलको पूmल अर्पण गर्दै शिव आराधना गर्न थाल्नुभयो ।
बाह्र वर्ष समय बित्यो । माघशुक्ल अष्टमीका दिनमा नृसिँह भगवानले स्थापना गरेको शिलामा शतरुद्र शिवले ज्योतिस्वरुप दर्शन दिई तप गर्नुको कारण सोद्धा नृसिँहले भन्नुभयो ः “हे प्रभु पहाडी, हिमाली क्षेत्रमा रहेका प्राणीहरुको पाप नास कसरी होला र मुक्ति कसरी पाउलान्” ? नृसिँहको जिज्ञासामा शिव भन्नुहुन्छः “मेरो मुखबाट गङ्गा बहाइदिन्छु, यिनको नाम वाग्मती हुन्छ, थुकको छिटा स्वरुप गङ्गा पैदा हुनेछिन्, यी पतीतपावनी हुनेछिन् र सो गङ्गा स्नानले हर प्राणीहरुको पापमोचन हुनेछ । यो शिला मेरै नाममा शतरुद्रेश्वर हुनेछ । वाग्मती स्नान गरी जसले यो शिलामा दर्शन, पूजा, रुद्राभिषेक गर्छ उसले मन, वचन र कर्मले गरिएका पापबाट मुम्ति पाउनेछ” ।
शिवपुरी यो क्षेत्र वाग्द्वार पञ्चतीर्थका नामले रहनेछ । नृसिँहले स्नान गरेकाले नृसिँह तीर्थ, शतरुद्र तीर्थ, विश्व गङ्गा, कैलाश तीर्थ र सपना तीर्थ पाँच तीर्थ रहनेछन् यहाँ । सपना तीर्थ यहाँबाट पश्चिम टोखामा पर्छ । पश्चिमतिर नै विष्णु गङ्गा रहनेछिन् । पञ्चतीर्थमा सकेसम्म वैशाख मासमा स्नान गरे कोटी गुणा अधिक फल मिल्नेछ । शिवपुरी उच्च शिखरबाट उत्तरीभेगमा रहेको यो शतरुद्रेश्वर क्षेत्रमा अघि परशुराम अवतार भगवान आएर पृथ्वीका दुष्ट क्षेत्री राजाहरुको वध गर्ने शक्ति मिलोस् भन्दै सो इच्छाले तप गर्नुभयो । शिव प्रकट भई परशुरामलाई भन्नुभयोः “तपाइँको इच्छा पूर्ति होस्” । परशुरामले २१ पल्ट पृथ्वी परिक्रमा गरेर दुष्ट शासकहरुको अन्त्य गरेपछि एक सूर्यकेतु राजा बचेका रहेछन्, यिनी शतरुद्रेश्वरकै भक्त रहेछन् र उनैलाई राज्याभिषेक गराएर परशुराम शान्त हुनुभएछ । ती राजाले बाह्र वर्षसम्म राज्य गरे, पुनः परशुरामलाई नै राज्य सुम्पे । सूर्यकेतुले बाह्र वर्षसम्म शतरुद्रेश्वरको आराधना गरे, शिवजीले त्यहाँ माघशुक्ल अष्टमीमा उनलाई दर्शन दिएर “तिम्रो इच्छा पूरा होस्” भन्नुभयो । सूर्यकेतुले श्रीपञ्चमीका दिन आप्mनी छोरी चन्द्रावतीलाई श्रीकृष्णका पुत्र प्रद्युम्नलाई सुम्पेर विवाह गराई आपूm सपरिबार शिवगणमा सामेल भएका थिए ।
शिवका मुखबाट निस्केकी वाग्मतीको मुहानमा स्नान गरी शतरुद्रेश्वरको सेवा गर्ने मानव, हर प्राणीहरु भवाटवीको कष्टबाट छुट्कारा पाउँछन्, एक एक पाइलामा अश्वमेध यज्ञको फल मिल्नेछ, जान्छु भनी प्रण गर्दैमा पनि ठूलो फल मिल्ने ठाउँ हो यो ।
विरुपाक्षले यहाँ फाल्गुण कृष्ण द्वितीयामा व्रत बसी शिव आराधना गर्दै रात्रिमा दीपदान सहित व्रत पारायण गरे ।
यो क्षेत्र काठमाडौँ जिल्ला राजधानी उत्तर वूढानीलकण्ठ सिधै माथि शिवपुरी डाँडो शिखरमा पर्छ । करिव ३ हजार मिटरको उचाइ हो तर कठिन छ यात्रा, घना जङ्गल पार गर्दै जानुपर्छ । कतै सिँढी छन्, धेरै छैनन्, लठीको सहारा राम्रो हुन्छ । वूढानीलकण्ठ माथि शिवपुरी राष्टिृय निकुञ्ज सैनिक गेटबाट मुहानपोखरी हुँदै बायाँ लागेर सिधै पैदल उक्लन पनि मिल्छ, पाँच, छ घण्टा बढीको उकालो छ, अथवा दायाँ लागेर सानो असहज बाटो हुँदै सवारीबाट बुद्ध गुम्बासम्म पुगी त्यहाँबाट टोड्के बाबाको आश्रम हुँदै ३ घण्टा बढीमा वाग्द्वार पुगिन्छ ।
वाग्द्वारमा माथि भनिएका गङ्गास्नान गरी उत्तर उकाली चढ्दै पुन डेढ् घण्टा बढी हिँडेर शिखरको खुल्ला मैदान जसलाई कैलाश भनिन्छ त्यहाँ शिवपुरी बाबाको नयाँ, सुरम्य शालिक अवलोकन र कामधेनु गाईले दूध बगाएको शिला समेत अवलोकन गर्दै उत्तर केही तल झरेर विशाल शिला जो शतरुद्रेश्र शिलाको दर्शन र उत्तरी भेगको विशाल क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । वाग्द्वारमा बाघको मुखबाट निःसृत वाग्मती, सो को अगाडि एक पोखरी छ, त्यसको दायाँतिर उचाइमा बारको घेरामा एक शिवलिङ्ग स्थापना गरिएको छ, नजिकै बुद्धको मूर्ति रहेको छ । सुन्दरीजलबाट पनि पैदल जान सकिन्छ ।
त्यो स्थल खप्तड बाबा, शिवपुरी बाबा, टोड्के बाबा लगायत धेरै बाबाहरुले साधनास्थली बनाए । बूढानीलकण्ठबाट राष्ट्रिय निकुञ्ज सैनिक घेरामा रहेको त्यो क्षेत्रमा तीन मुहान छन् पहिलो विष्णुमतीको मुहान विष्णुद्वार हो, दोस्रो मुहान पोखरी रुद्रमतीको स्रोत हो र यसलाई अहिले धोविखोला भन्ने गरिएको छ, अर्को वाग्मती ।


















