समाचारको स्रोत पत्ता लगाउने उद्देश्यले प्रहरीले पत्रकार तथा सञ्चारगृहमा गरेको धरपकडबारे राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन गरेको छ ।
मानव अधिकार अधिकृत खिमानन्द बस्याल नेतृत्वको टोलीले मंगलबार नयाँ पत्रिकासहितका सञ्चारगृहमा पुगेर घटनाबारे जानकारी लिएको हो ।
गत शुक्रबार सादा पोसाकका प्रहरीले नयाँ पत्रिकालगायत सञ्चारगृहमा पुगेर पत्रकार विश्वमणि सुवेदी, शोभराज बराल र धीरज बस्नेतलाई पक्राउ गरी केही घण्टा नियन्त्रणमा राखेका थिए । उनीहरूसँग समाचारको स्रोतबारे सोधपुछ गरिएको थियो।
नयाँ पत्रिका र दिगो पोस्टको कार्यालयमा समेत प्रहरीले धरपकड गरेको थियो । यसअघि आयोगको टोलीले सोमबार नेपालप्रेसको कार्यालय पुगेर पत्रकार विश्वमणि सुवेदी र प्रधानसम्पादक मातृका पौडेलसँग घटनाबारे जानकारी लिएको थियो।


















