सुन-चाँदीका सिक्का किन्नेहरूको भिड

नेपाल राष्ट्र बैंकबाट सुन-चाँदीका सिक्का किन्नेहरुको भिड लागेको छ । सिक्का किन्न चाहनेहरूको बबरमहलस्थित टक्सार महाशाखा अगाडि लामो लाइन छ ।राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन–चाँदीका सिक्का बिक्री सुरु गर्दैछ । खरिद–बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुने छ ।

तिहारमा सुन–चाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका साथ राष्ट्र बैंकबाट सिक्का खरिद गरी लक्ष्मीको रुपमा पूजा गर्ने प्रचलन छ । राष्ट्र बैंकबाट बिक्री हुने सुन-चाँदीका सिक्कामा शुद्धता प्रतिशत बढी हुने विश्वासले पनि उपभोक्ताहरु खरिदका लागि पुग्ने गर्दछन् । गत वर्ष राष्ट्र बैंकले सुन अभाव भएको भन्दै चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो । यस वर्ष भने वाणिज्य बैंकबाट ३५ किलो सुन खरिद गरी असर्फी पनि बिक्री थालेको छ ।

एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका ३ वटासम्म चाँदीका सिक्का खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।