नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना कार्यकाल बाँकी रहेका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । बाढीपहिरो, विस्थापन र महँगीले नागरिक आक्रान्त भइरहेका बेला सरकारको प्राथमिकता प्रहरी नेतृत्व परिवर्तन हुनु गलत भएको उनको टिप्पणी छ ।
उनले कार्कीलाई हटाउनुको कारण, आधार र प्रमाण सार्वजनिक गर्न माग गर्दै सरकारका प्रवक्ता र रास्वपा प्रवक्ताको फरक अभिव्यक्तिले सरकार कसको निर्देशनमा चलेको हो भन्ने प्रश्न उब्जाएको बताएका छन् । अनुसन्धानका लागि बरामद गरिएको बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयमा समेत प्रश्न उठाउँदै आङ्देम्बेले प्रहरी संगठनलाई राजनीतिक नियन्त्रणमा राख्ने प्रयास सुशासन नभई शक्ति प्रदर्शन भएको आरोप लगाएका छन् ।


















