बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन्।
प्रदर्शनकारीले प्रहरीको अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए। प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी तथा सार्वजनिक संरचनामा क्षति पुर्याइएको छ।
उनीहरूले गोपालगञ्जस्थित जुलाई स्मारक र विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरको हादी चोकमा रहेको नामपट्टिकासमेत तोडफोड गरेका छन्। केही सरकारी संरचनाका नामपट्टिका हटाएर पुराना नाम राखिएको छ। प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध गरेका थिए। प्रदर्शनमा सहभागी केही व्यक्तिले खुकुरी, भाला, बन्चरो र लाठीसहितका स्थानीय हतियार बोकेका थिए। उनीहरूले शेख हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गरेका थिए।
आइतबार बिहानैदेखि जिल्लाका विभिन्न क्षेत्रबाट मोटरसाइकल, रिक्सा, बस तथा ट्रकमा प्रदर्शनकारी गोपालगञ्ज पुगेका थिए । उनीहरू दिउँसो करिब १२ बजे बीएसआईसी पुल क्षेत्रबाट जुलुससहित निस्किएका थिए। प्रदर्शन दिउँसो १ः४५ बजेसम्म चलेको थियो । प्रदर्शनकारीले टायर र अन्य सामग्रीमा आगो लगाएका थिए ।


















