शेख हसिनाको समर्थनमा प्रदर्शन हिंसात्मक बनेपछि गोपालगन्जका प्रशासन र प्रहरी प्रमुख हटाइए

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै उनको गृहजिल्ला गोपालगन्जमा भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले प्रमुख प्रशासनिक अधिकारी र प्रहरी प्रमुखलाई पदबाट हटाएको छ । आइतबार भएको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र सडक अवरुद्ध भएपछि डेपुटी कमिस्नर मोहम्मद आरिफ उज जमान र प्रहरी प्रमुख मोहम्मद हबीबुल्लाहलाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरूको स्थानमा नयाँ अधिकारी नियुक्त गरिएको छ ।

हसिनाको पार्टी अवामी लिगका नेता तथा कार्यकर्ताले उनको फिर्तीको माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले पार्टी कार्यालय, जुलाई स्मारक, प्रहरी चौकी र प्रहरीको बख्तरबन्द गाडीमा तोडफोड गरेका थिए । विभिन्न सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध पारेका थिए । अवामी लिगका स्थानीय नेताहरूले हसिना स्वदेश नफर्किएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी हसिना त्यसयता भारतमा बस्दै आएकी छन् ।

यसैबीच, प्रदर्शनपछि गोपालगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले सीमा सुरक्षा बलका ६ प्लाटुन र एक हजार ३५० प्रहरी परिचालन गरेको छ । सार्वजनिक तथा सरकारी संरचनाको सुरक्षाका लागि निगरानीसमेत बढाइएको छ ।