नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको प्रदेश अधिवेशन कार्यतालिका एक दिन प्रभावित भएको छ। मंसिर ४ गतेदेखि सुरु हुने भनिएको अधिवेशन हरिबोधनी एकादशीका कारण मंसिर ५ गतेदेखि सुरु हुने भएको हो।
धार्मिक पर्वका कारण अधिवेशनको मिति एक दिन पछाडि सारिएको सचिवालय समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए। उनका अनुसार मंसिर ५ गते गण्डकी प्रदेश, मंसिर ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम, १७ गते कोसी र १९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ। सबै प्रदेश अधिवेशनमा शेरबहादुर देउवा सहभागी हुने बताइएको छ।
देउवा पक्षले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । हरेक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ पालिकाबाट प्रतिनिधि, ३०० जना मनोनीत, भ्रातृ संस्थाबाट २००, जनसम्पर्क समितिबाट २०० तथा पालिका प्रमुखसहित अन्य प्रतिनिधि गरी आठ हजारभन्दा बढीको सहभागिता रहने उनको दाबी छ ।
देउवा पक्षले असोज १५ गतेदेखि महाधिवेशनको कार्यक्रम सुरु गरेको थियो । हालसम्म ४६ जिल्ला र १४० निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ ।


















