कांग्रेसले क्रियाशील सदस्यकै ‘भोटिङ’मा स्थानीय तहका उम्मेदवार छान्ने

नेपाली कांग्रेसले सम्बन्धित तहका क्रियाशील सदस्यबाटै आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्ने जनाएको छ । पार्टीलाई तल्लो तहमा लैजाने गरी गर्न लागेको ‘हामी तयार छौँ’ कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा सभापति गगनकुमार थापाले अब केन्द्र वा माथिबाटै मात्र नभई सदस्यको सुझावको आधारमा उम्मेदवार चयन गर्ने जानकारी दिए ।

‘सम्बन्धित पालिकामा क्रियाशील सदस्यमा पहिलो चरणमा मेयर कसलाई बनाउने भनेर आन्तरिक भोट हाल्छन् । यो बाहिर सार्वजनिक हुँदैन । तर पार्टीको प्रणालीमा आउँछ । त्यो तहमा साथीहरूले यिनीहरूलाई छानेछन् भन्ने पार्टीले थाहा पाउँछ,’ थापाले भने, ‘पार्टीले प्राथमिकता दिएर उम्मेदवार चयन गर्ने विधि हो । क्रियाशील सदस्यले प्राथमिकतामा तीन जनालाई मत दिए कसलाई छान्ने भन्नेमा छनोटको सहजता हुनेछ ।’

यसरी नै उम्मेदवार छनोटको निर्देशिका बन्ने भन्दै थापाले अभिमुखीकरणमा यही विषय तल्लो तहमा लिएर जान निर्देशन दिएका हुन् । ‘केन्द्रले टिकट बाँड्ने होइन । पालिकाका उम्मेदवार छान्ने अथोरिटी सम्बन्धित पालिकाका सदस्यलाई दिइन्छ । मूल अधिकार तलको पार्टीको साथीहरूसँग रहन्छ,’ थापाले भने, ‘निर्देशिका बनाएर कसले कसरी उममेदवार टुङ्ग्याउने भन्ने निर्णय लिन्छौँ । तर, यसपटकको यो नयाँ प्रणालीमार्फत उम्मेदवार छानिँदै छन् भन्ने नीति लिएर ७५३ वटै पालिकामा जानुस् ।’

केही समयमा पार्टीले निर्देशिका बनाएर प्रस्ट पार्ने उनको भनाइ छ । उनले स्थानीय तहका प्रतिनिधिसँग संवाद गर्न, विधान, संगठन र संरचनाको काम गराइको स्थिति बुझ्न, कमजोरी केलाउनेसहितका काम गर्न पनि निर्देशन दिए । स्थानीय तहको निर्वाचन नजिकिएसँग दलहरू छलफलमा जुटेका छन् । आन्तरिक संरचनालाई चुस्त बनाउने नीतिअनुरूप कांग्रेस पनि ‘हामी तयार छौँ’ अभियान लिएर ७५३ वटै पालिकामा जान लागेको छ ।