अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । संसारकै शक्तिशाली राष्ट अमेरिकाको निर्वाचनलाई विश्वभर उत्सुकतापूर्वक हेरिरहेको छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस तीव्र प्रतिस्पर्धामा छन । ह्यारिस पहिलो महिला र एसिया–अफ्रिकी मूलकी महिलालाई हुन । ह्यारिसले चुनाव जिते अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । त्यस्तै ट्रम्प विजयी भएमा दोस्रोपटक देशको सर्वोच्च पदमा पुन पुग्ने छन । निर्वाचनको अन्तिम दिन पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र उपराष्ट्रपति तथा डेमोक्य्राटिक उम्मेदवार कमला ह्यारिसले मतदातालाई आ–आफ्ना समापन सन्देश दिए । ह्यारिसले पेन्सिल्भेनियामा प्रचार गरिन् भने ट्रम्पले पेन्सिल्भेनियासहित उत्तरी क्यारोलिना र मिसिगन पुगेर आफ्नो अभियान सम्पन्न गरे । यसअघि ट्रम्पले आफ्नो गृहनगर न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा चुनावी र्याली गरे भने उपराष्ट्रपति कमला ह्यारिसले पेन्सिलभेनियामा प्रचार अभियान चलाईन । म्याडिसन स्क्वायर गार्डेनमा आयोजित चुनावी सभामा ट्रम्पले बारम्बार अप्रमाणित अध्यागमनलाई रोक्ने आफ्नो योजना व्याख्या गरे ।
राष्ट्रपति निर्वाचनमा निकै कडा प्रतिस्पर्धा हुने र दुवै उम्मेदवारले जित्ने सम्भावना उत्तिकै रहेको चुनाव अगाडि गरिएका केही पछिल्ला सर्वेक्षणले देखाएका छन । आइतबार सार्वजनिक गरिएको सिबिएस न्युज÷युगोभ सर्वेक्षणले ट्रम्पको सम्भावना ४९ प्रतिशत र ह्यारिसको ५० प्रतिशत रहेको देखाएको छ । राष्ट्रिय सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा एक अंकले अगाडि छिन। अमेरिकाको एबिसी टेलिभिजनले गरेको अन्तिम सर्वेक्षणअनुसार राष्ट्रिय रूपमा दुवै उम्मेदवारले बराबर (४९÷४९ प्रतिशत) प्राप्त गर्ने देखिएको छ ।
अहिलेसम्म साढे सात करोड मानिसले इमेलमार्फत मतदान गरिसकेका छन् । नोभेम्बर ५ को मतदानका दिन समय मिलाउन नसक्ने वा मतदान गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिलाई अधिकांश अमेरिकी राज्यले व्यक्तिगत मतदान वा हुलाक मतदानको अनुमति दिन्छन । बाइपार्टिसन पोलिसी सेन्टरका अनुसार सन् २०२४ मा मतदान गर्न योग्य अमेरिकीको संख्या २४ करोड ४० लाख छ । तीमध्ये कतिजनाले वास्तवमै मतदान गर्नेछन् भन्ने हेर्न बाँकी नै छ ।
५९ वर्षीया ह्यारिस एक भारतीय मूलकी आमा र जमैका मूलका बुबाकी छोरीको रूपमा क्यालिफोर्नियाको अकल्यान्डमा जन्मिएकी थिइन । उनले क्यालिफोर्निया युनिभर्सिटी अफ क्यालिफोर्नियामा कलेज अफ द लबाट डिग्री हासिल गर्नुअघि वासिंटन डिसीको हावर्ड विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् । सान–फ्रान्सिस्को जिल्ला अधिवक्ताको कार्यालयमा जानुअघि उनले अलमेडा काउन्टी जिल्ला अधिवक्ताको कार्यालयमा काम गरेकी थिइन् । उनी सन् २००३ मा सान–फ्रान्सिस्कोको जिल्ला न्यायधिवक्ता बनिन् र सन् २०१० मा क्यालिफोर्निया राज्यको कानुन प्रवर्तनको शीर्ष भूमिकामा देखिइन ।अर्कोतर्फ ट्रम्प कुनै पनि हालतमा दोस्रोपटक देशको राष्ट्रपति बन्ने दाउमा छन । ट्रम्पले सोमबार अटलान्टामा आयोजित एक र्यालीलाई सम्बोधन गरेका छन। त्यसअघि उनले एक हजार पादरी र धार्मिक नेतालाई सम्बोधन गरेका थिए । उक्त अवसरमा ट्रम्पले आर्थिक मुद्दालाई जोड दिएका थिए । १६ इलेक्टोरल कलेज भोटसहित जर्जिया अर्को ब्याटलग्राउन्ड राज्य हो । सन् २०१६ को निर्वाचनमा जितेका ट्रम्पले सन् २०२० मा भने झिनो मतले हारेका थिए ।



















