पूर्वडीआईजी जोशीलाई काठमाडौँ ल्याइँदै

गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा ल्याउने भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए ।

उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।