कसले बाजी मार्ला पत्रकार महासंघको चुनावमा ?

पटक पटक सार्दै आएको नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएका छ । जसअनुसार यही मंसिर २८ गते शुक्रबार निर्वाचन हुने भएको छ । महासंघ भित्र सदस्यताको बिवाद देखिए पछि निर्वाचन रोकिएको थियो । महासंघको निर्वाचन रोकिदा महासंघको बैधानिकता माथिनै प्रश्न चिन्ह खडा हुने अबस्था सृजना भएको थियो ।

मंसिर २८ गतेको निम्ती निर्वाचनको मिति तोकिएसंगै भाबि नेतृत्वको बारेमा पनि चर्चा चल्न थालेको छ । नेपाली पत्रकारहरुको छाता संस्था भनिंदै आए पनि यसमा दलहरुकै छायाँ देखिन्छ । भाबि निर्वाचनमा पनि त्यस्तै देखिदै छ । यसमा महासंघको केन्द्रीय समितिको निर्वाचनका लागि सत्तागठबन्धका दल नेपाली कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीको गठबन्धन बनेको छ । यो गठबन्धनबाट केन्द्रीय समितिको सभापतिमा प्रेस चौतारीकी निर्मला शर्मालाई उमेद्वार बनाई प्यानल खडा गरिएको छ । यो गठबन्धनमामहासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद लिने भएको छ भने युनियनले ८ पदमा उम्मेदवारी दिने भएको छ । जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने छन् । चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको छ ।

प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ । अर्काे तर्फ नेपाली कांग्रेस निकट प्रेस युनियनकै विद्रोही पक्षधरसँग नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सहित समाजबादी मोर्चाका आवद्ध दल निकट पत्रकारहरुको चुनावी गठबन्धन बनेको छ । यो समूहले रमेश बिष्टलाई केन्द्रीय समितिको अध्यक्ष पदको उमेद्वार घोषणा गरेको हो ।

कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीबीच केन्द्रीय समिति, प्रदेश समिति र विभिन्न शाखाहरुको समिति बनाउन गठबन्धन हुने भनिएपनि प्रेस युनियनको एउटा समूह नेकपा माओबादी सहित अन्य पार्टी निकट पत्रकारहरुको संस्थासंग मिलेर छुट्टै प्यानल घोषणा गरे पछि सत्तागठबन्धका दल नेपाली कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीको गठबन्धन कमजोर भएको छ । यो गठबन्धनले पत्रकार सम्मेलन गरेर आफूहरूको प्रतिवद्धता सार्वजनिक गर्दै नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरण गर्ने उल्लेख छ ।
विष्ट नेतृत्वको प्यानललाई ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुको समर्थन रहेको जनाईएको छ । यस प्यानलको नाम श्रमजीवी पत्रकारहरुको साझा प्यानल नाम दिईएको छ ।यसअघि अध्यक्षमा उम्मेद्वारी दिएका नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरका कलम गिरीले आफ्नो उम्मेद्वारी फिर्ता लिएर विष्टलाई सघाएका छन् विष्टलाई माओवादीनिकट प्रेस सेन्टर, नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनसलगायत साना संगठनहरुले समर्थन छ ।

। यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माओवादीनिकट प्रेस सेन्टरबाट हालका महासचिव रोशन पुरीले उम्मेदवारी दिएका छन् । यस्तै, महिला उपाध्यक्षमा गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभास प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेद्वारी छ । यस्तै, खुला सचिवमा उत्तरसिंह विष्ट समेटिएका छन् ।मधेशी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भिषण राई, एशोसियट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारी समेटिएका छन् । यस्तै विष्टको प्यालनबाट लेखा संयोजकमा ध्रुव रावल समेटिएका छन् ।

उता पत्रकार महासंघलाई दलिय सिण्डीकेटबाट मुक्त गर्नु पर्दछ भन्ने क्रियाशिल पत्रकारहरूको साझा मोर्चाले पनि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको छ । यो मोर्चाबाट अध्यक्षमा देवी प्रसाद सापकोटा, महासचिवमा जन्मदेव जैसी खुल्ला सचिव कुमार ओझा, सचिव मधेसी प्रबिण कुमार चौधरी, सचिव दलित संतोष बराईली, सचिव एशोसिएट, योगेश खपाङ्गी , सचिव आदीबासी जनजाति ,टिकाराम प्रधान, केन्द्रीय सदस्य खुल्ला फडिन्द्र फुयाल,केस उपत्यका,मुक्ति नाथ आचार्य, केस गण्डकी उज्जवल पौडेल लगायतका छन । यस्तो अवस्थामा दलिय सिण्डीकेटबाट वाक्क भएका पत्रकारले दलका कार्यकर्ता भन्दा क्रियाशिल पत्रकारहरूलाई छानि छानि जिताउने सम्भावना बढी छ ।