महिला नेतृप्रति कहिलेसम्म पुरुषवादी चिन्तन हावी हुने

केही दिन यता नेकपा एमालेले डा. भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेपछि यति बेला एमाले पार्टी भित्रमात्र होइन नेपाली बजार मज्जाले तातिएको छ । पार्टी नेतृत्व भन्दा फरक मत राखेकै भरमा यी तीन नेताहरु पार्टी बाट कारवाहीमा पर्नु पर्दा यति बेला नेपाली बजार पुरुष नेताकोलागि मात्र होइन महिला नेतृहरुलाई हेर्ने पुरुषवादी चिन्तन हावी भएको देख्न सकिन्छ ।

लोकतन्त्रमा फरक मतको सम्मान भएर मात्रै लोकतन्त्र बलियो र दिगो हुने नेपालको सविंधानद्वारा सुनिश्चित गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, आधारभुत मानव अधिकार संविधानमै किटान गरिएको छ तर नेकपा एमाले भित्र भने यी तीन नेता रावल, पाण्डे र तिम्सिनाले पार्टी भित्र आफ्ना फरक मत राख्दैमा कारवाही मात्र होइन पार्टी बाटै निष्कासन हुनु पर्दाको एमाले भित्रको घिनलाग्दो राजनीतिक कुचेष्ठा नेपाली समाजमा छरप्रष्ट देखिन पुगेको छ ।

हुन त संविधानमा लेखिएका अधिकारहरु प्रयोगमा ल्याउन पाउनु मानव अधिकारको हक भएतापनि नेकपा एमाले भित्रका नेताहरुलाई भने नेतृत्व पक्षको अन्डरमा बस्नु पर्ने र आफ्ना फरक मत राख्दा नेतृत्वको शैलीमा गर्नु पर्ने हुँदा कतिपय नेताहरु विगतमा पनि बाहिएको थुप्रै घटनाहरु छन् । नेकपा एमालेबाट बाहिरीएर अर्को नयाँ पार्टी खोलेर राजनीतिक रुपमा स्थापित भएका छन् । पार्टी भित्रका कमिकमजोरीलाई फरक मतका माध्यमबाट सुधारात्मक र हस्तक्षेपकारी भूमिका खेल्दै पार्टीलाई सबै नेता तथा कार्यकर्ताको मात्र नभई आम नेपालीले सम्मान गरोस् भन्ने जनचाहना अनुरुप बिचार राख्दा समेत यी तीन नेताहरु एमाले पार्टीमा कारवाही पर्नु के लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको होइन र भनेर यति बेला नेपाली बजारले नेकपा एमालेको नेतृत्व पक्षलाई कुरी कुरी गरिहेको छ तर नेतृत्व पक्षको दम्भ र खोक्रो राष्ट्रवाद उदाङगो चरित्र यति बेला छर्लङग देखिएको छ । लोकतन्त्रमा आफ्ना विचार राख्न पाउछन् तर यसरी आफ्ना विचार राख्दैमा आफू नै सकिनु पर्ने कस्तो शासन प्रणाली हो भनेर प्रश्न गर्नु पर्ने समय आएको छ तर यस्ता विषयमा पार्टी भित्रकै व्यक्तिहरु मौन बसेको नेकपाका केही नेताहरु र कार्यकर्ताहरुको व्यक्तिगत विचार यति बेला बजारमा नआएको होइन तर नेकपा एमालेको नेतृत्व पक्षको खोक्रो आडम्बरी राष्ट्रबाद र कार्यकर्ता र नेताहरु प्रति हेर्ने दृष्टिकोण भने निकै नै संकुचन र निरंकुशता र तानाशाही हावि भएको टिकाटिप्पणी बजारमा सुनिन आउँछ ।

व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन एमालेले दान लिएको विषयलाई आलोचना गरेको र त्यसप्रति असहमति जनाउँदै सामाजिक संजालमा उल्लेख गरेको भन्दै लामो समय एमाले पार्टी भित्र बसेर योगदान दिएका यी दुई नेतृ माथि कारबाही गरिएको थियो । एमाले केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण समेत मागिएको थियो। त्यसमा दुवै जनाले स्पष्टीकरण दिए पनि चित्तबुझ्दो नभएको सचिवालयको निष्कर्ष समेत आयो उनीहरुले नेपालको सविंधानद्वारा सुनिश्चित गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता समेत अनुभूति गर्न पाएनन् । पार्टी बाट सिंधैं कारवाही हुनु पुगे । यी दुई नेतृले पार्टी हितकोलागि राखिएको फरक मतप्रति एमाले नेतृत्वको संकुचन सोंच र महिला नेतृप्रति हेरिने पुरुषवादी चिन्तन कति सम्म हुँदो रहेछ भन्ने प्रष्ट देखिन्छ ।

यी तीन नेतालाई नेकपा एमालेले कात्तिक ४ मा स्पष्टीकरण सोधिएको थियो । पाण्डे र तिम्सिनाले कात्तिक १२ मा स्पष्टीकरण दिँदै ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउने निर्णय गलत भएको टिप्पणी गर्नु कारबाहीको विषय नभएको’ बताएता पनि उनीहरुको कुरा सुनुवाई भएन भने यता अर्का नेता भिम रावल एमालेमा निष्क्रिय भन्दै स्पष्टीकरण मागेपनि रावलले स्पष्टीकरण नदिएको भन्दै उनलाई पार्टीबाट नै साधारण सदस्य समेत नहरने गरी निष्कासन गरियो ।

ब्यापारी बाट पार्टी कार्यालय बनाउन सहयोग लिनु गलत हो भन्दैमा अर्का नेता बिन्दा पाण्डेलाई पार्टीले कारवाही गर्दा पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु चुइक्क नबोल्दा पार्टीमा लामो समय योगदान दिएका नेता विन्दा पाण्डे र उषाकिरण जस्ता सयौं महिला नेतृहरुको मनोदशा कस्तो भयो होला यस विषयमा छलफल बहस हुनु पर्ने हो तर झन पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेका नेतृत्व पक्षबाट आफू पनि कारवाहीमा परिन्छ कि भनेर मौन रहेको नेपाली बजारमा चर्को आवाज उठेको छ । नेता विन्दा पाण्डेले त खुलेरै संगठनको हितमा बोलेकि थिइन् साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने विषयलाई ध्यान दिर्दै यसरी ब्यापारीले दिने सहयोगमा नफस्न पनि आग्रह गरेका थिइन् तर उनको कुरालाई सुनाई त परै जावस् झन् उनलाई पार्टीबाट ६ महिनाकालागि निलम्बीत गरिएको छ । कस्तो अचम्म कुरा सुन्दा पनि । लोकतान्त्रिक गणतन्त्रमय राष्ट्रका हामी आज आफ्नै घर भित्र होस् या पार्टी भित्र गएर संघर्ष गर्ने महिलाहरु आजको दिनमा समेत पुरुषवादी चिन्तन, दमन र पुरुषवादी सोंचको अंकुशमा बस्नु परिरहेको छ । पार्टी हाक्ने यस्ता शक्तिशाली महिला नेताहरुको अवस्था त यस्तो देखियो भने सामान्य महिलाहरुको अवस्था हाम्रो देशमा कस्तो होला हामी कल्पना समेत गर्न सक्दैनौं ।

नेकपा एमाले पार्टी कार्यलय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनी बढी जग्गामा एमालेले पार्टी कार्यालय बनाउँदैछ । २५ असोजमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । भवन निर्माण पनि व्यवसायी गुरुङले नै गरिदिने समाचारले समेत नेपाली बजार तताएको थियो । पार्टी भित्र एउटा ब्यापारीले सिङगो पार्टी नै किनेर बनाई दिने जस्तो कुरो आएपछि विन्दा पाण्डेले पार्टीको यो कदमको चर्को विरोध गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्– ‘राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो’,। उनले थपेकी छन्, ‘तर, बुझ्नुपर्छ जसले लाख दिन्छ, करोडको अपेक्षा राखेको हुन्छ । जसले करोड दिन्छ, उसले अरब फिर्ता गर्ने सोच राखेकै हुन्छ । तर ती पैसामा जम्मा गरेर रुपैयाँमा सहयोग गर्ने श्रमिक वर्गले त्यस बापत सुशासन अपेक्षा गरेका थिए । नागरिकले सम्मानपूर्वक श्रम गरी खान पाउने, हरेक सन्तानले असल शिक्षा र बिरामी हुँदा सहज उपचारको अपेक्षा गरेका थिए । जुन सामूहिक र सामाजिक हुन्छ । त्यो हामीले कति पूरा गर्न सक्यौँ ? कति प्रयत्न ग¥यौँ ? आजको अहम प्रश्न हो ।’

त्यसैगरी पार्टीको कारवाहीमा परेकी अर्का नेता उषाकिरण तिम्सिना पनि हुन् । उषाकिरणले पनि फेसबुममा लेख्दै भनेकी छिन्। पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो नेकपा एमालेको ६ महिना निलम्बनमा परेकी उषाकिरण तिम्सिनाले आफूविरुद्धको कारबाहीप्रति प्रतिक्रिया दिएकी छन् । पार्टीले कारबाही गर्दा नुवाकोटमा पार्टी काममा व्यस्त रहेको उल्लेख गर्दै तिम्सिनाले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिदैं ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी छन् । ‘यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’

पार्टी भित्रका कुरा बाहिर ल्याएको भन्दै र पार्टीको नीति नियममा बसेकार काम नगरेको भन्दै यी तीन नेतालाई केही दिनु अगाडि एमाले सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निष्कासन गर्नुका साथै स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।

हामी सबैलाई थाहा भएको कुरो हो लोकतन्त्रमा फरक मतको सम्मान भएमात्रै लोकतन्त्र बलियो र दीगो हुन्छ । फरक मत राख्दा पार्टीबाटै निष्काशन हुनु पर्ने कस्तो अवस्था होला । पार्टी भित्र लामो समय बसेर योगदान दिई समाजमा एक खालको सामाजिक राजनीतिक विरासत बनाएका महिला नेतृहरुको अवस्था हेर्दा उदेक लाग्दो छ तर यसरी भन्दै गर्दा राजनीतिक दल भित्र महिलाको सहभागिता र क्रियाशीलता चाँही नभएको भन्न भने खोजिएको होइन तर यसरी पार्टी भित्र महिला नेतृले आफ्ना विचार र फरक मत राख्दैमा राष्ट्रिय रुपमै कारवाही हुनु चाँही महिला नेतृ प्रति पुरुषवादी चिन्तनको हावि मात्र होइन हेपाइ र दादागिरीको उपज हो भन्दा फरक नपर्ला ।

महिलाहरुले राजनैतिक क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा अग्नी परिक्षा दिर्दै आएका छन् चाहे रामायणमा सीता मैयाले आफ्नो अस्त्तिव बचाउन आगोमा होमिनु किन नपरोस् या नेपालको सतिप्रथामा आफ्नो श्रीमानको मृत्यु भएपछि श्रीमानसँग सती गएर आगोको रापमा जलेर किन मर्न नपरोस् यस्ता थुपै परिक्षा दिएर महिलाहरु आजको २१ औं शताब्दीको वैज्ञानिक युगमा आइपुगेका छन् । तर पनि पटक–पटक आफ्नो योग्यता र क्षमताबाट सफल भएका, राजनीतिक संरक्षकहरुको सहारा बिना अघि बढेका महिला नेताहरु नै आज आफ्नो दलभित्र तर्क, नैतिकता र ईमान्दारीताको प्रमुख आवाज बनेका छन तर दुर्भाग्यवश, यिनै महिलाहरुलाई बारम्बार लक्षित गर्दै सार्वजनिक रुपमा हतोत्साहित, निरुसाहित गर्ने र उनीहरुको योगदानलाई अवमुल्यांकन र बेवास्ता गर्ने प्रयास भइरहेको छ । हरेक पटक जो कोहिले आफ्नो फरक मत राख्दा अग्नी परिक्षाको सामना गर्नुपर्ने यस प्रकारको कारवाहीहरुले पार्टी भित्र महिला नेतृहरुको स्वायत्ततालाई खोस्ने, आत्म सम्मानमा ठेस पुराउने र उनीहरुलाई दबाएर राख्ने प्रवृति स्थापित भइरहेको छ । यसले महिलालाई स्वतन्त्र र विचारशील व्यक्तिका रुपमा अस्विकार गर्दै उनीहरुको स्वभिमानमा चोट पुराउदै गरेको छ र आउने दिनमा पनि जानेछ यदि यसको प्रतिकार गरिएन भने । तर यस्ता गहन पक्षमा महिलावादीहरुको आवाज भने कमै आउने गर्दछन् । जसले गर्दा समाजमा केही गरौं भन्ने महिलाहरु बारम्बार हतोत्साहित हुने गर्दछन् । यस्ता विषय एक जना महिलाको मात्र नभई हामी सबै महिलाहरुको समस्या, चुनौति र कठिनाई हो भनेर एक ढिक्का हुनु जरुरी छ ।

यसप्रकारका घटनाप्रति मौन बस्नाले महिलाहरुको योगदान उपेक्षित हुनका साथै लोकतान्त्रिक गणतन्त्रभित्र मौनताको संस्कृति बलियो बन्दै जान्छ । डा.विन्दा पाण्डे, उषा किरण तिम्सिना र डा. भिम रावल विरुद्ध गरिएको असंवैधानिक कदमको विरोध गर्दै, देशव्यापी महिला आन्दोलनमा क्रियाशील संस्थाहरुले पनि पार्टीले गरेको कदमको घोर भत्सर्ना गर्न आवश्यक छ । आज नेकपा एमाले भित्र यस्ता खालको रोक देखिएको छ भने भोलि अन्य दलभित्र पनि यसरी नै महिलाको नेतृत्व, क्षमता, कार्यदक्षता र महिलाको योगदान र महिलाको फरक मतमाथि कुन्ठीत गर्ने जुनसकै पार्टी बर्ग र क्षेत्र किन नहोस् त्यसको विरुद्ध महिलाहरु तथा नागरिक समाज एक जुट भई त्यसको विरुद्ध बुलन्द आवाज उठाउनु पर्दछ । चाहे पार्टी होस् या घर भित्रै किन नहोस् या जुनसुकै क्षेत्रमा महिला या पुरुषमाथि अन्याय अत्याचार गर्ने विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्दै महिलामाथि गरिने विभेद र विसंगति प्रति घोर भत्सर्ना गर्न सक्यौ भने मात्र महिलाको भविष्य आउने दिनमा सुरक्षित हुनेछ । अधिकार मागेर पाईदैन, खोसेर लिनु पर्छ भन्ने हेक्का आम महिलामा हुनुपर्दछ।