प्रतिनिधि सभामा ५ र प्रदेशमा ३ प्रतिशत थ्रेस होल्ड कायम गर्ने गृहकार्य

सरकारले थ्रेस होल्ड बढाउने गरी गृहकार्य थालेको छ।दलहरूले समानुपातिक सिट पाउनका लागि आवश्यक पर्ने न्यूनतम मत प्रतिशत (थ्रेस होल्ड) को सीमा बढाउने गरी कानुन संशोधनको तयारीमा सरकार जुटेको हो।गृह मन्त्रालयले प्रतिनिधि सभामा कम्तिमा ५ प्रतिशत र प्रदेश सभामा कम्तिमा ३ प्रतिशत मत पाउने दलहरूले मात्रै समानुपातिक सिट पाउने प्रस्ताव गर्दै कानुन संशोधन तयारी सुरू गरेको हो।
उक्त प्रस्ताव सहितको निर्वाचन व्यवस्था विधेयक गृह मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ।निर्वाचन आयोगले २०८० असार १७ गते गृहमा पठाएको विधेयकको मस्यौदामा भने ’थ्रेस होल्ड’ अहिलेकै कायम गरिएको थियो।निर्वाचनसम्बन्धी ऐनमा प्रतिनिधि सभामा ३ र प्रदेश सभामा १.५ प्रतिशत मत ल्याउने दलले मतसंख्याको आधारमा समानुपातिक सिट पाउने व्यवस्था छ।यही व्यवस्थालाई नै कायम राखेर आयोगले गृह मन्त्रालयमा विधेयकको मस्यौदा पठाएको थियो।
’थ्रेस होल्ड’ कम हुँदा धेरै दलहरूको प्रतिनिधित्व संसदमा हुने र त्यसले अस्थिरता बढाउने दाबीसहित नेपाली कांग्रेस र नेकपा (एमाले) ले यसको सीमाना बढाउनुपर्ने बताउँदै आएका थिए।
आफूहरूले सबै सरोकारवाला पक्षसँग छलफल गरेर विधेयकको मस्यौदा तयार पारेको र ’थ्रेस होल्ड’ का सन्दर्भमा पुरानै व्यवस्था कायम राखेर गृह मन्त्रालयमा पठाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।