गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गकोे भकुण्डेबेँसी देखि नेपालथोक सम्मका विभिन्न खण्डका सडक सडक विभागले मर्मतको काम थालेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेका अनुसार राजमार्गको १३ किलोमिटर खण्डमा बढि क्षति पुर्याएको छ ।
त्यस मध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बगाएको छ । न्यौपानेका अनुसार हाल उपकरण तथा जनशक्ति परिचालन गरि विभिन्न खण्डको मर्मत भई रहेको छ । ‘बाढी क्षति पुर्याएको १३ किलोमिटर मध्ये ८.५ किलोमिटर सडक पूर्ण रुपमा बनाउनु पर्ने भएको छ भने बाँकि खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्ने लगायतका काम गर्नु पर्ने हुन्छ ।
सो सडक खण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भएको छ विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरि क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको पनि न्यौपानेले सान न्युजलाई बताउनु भयो । उहाँले काम नभएका स्थानहरुबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तिव्रता दिने बताउनुभएको छ ।
यसै गरि सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले पनि बीपी राजमार्गकोे भकुण्डेबेँसी देखि नेपालथोक सम्मका विभिन्न खण्डका सडक पहिलो प्राथमिकतामा राखेर मर्मत थालेको जानाकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले बीपी राजमार्गलाईनै पहिलो प्राथमिकता दिएका छौं, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको श्रोत साधनको अधिकतम उपयोग गरि काम गरिरहेका छौ ।
योगेशले आवश्यक परे रातीको समयमा समेत काम गरि मर्मतलाई चुस्त र तिव्र पारिने बताउनु भएको छ ।सो राजमार्गमा क्षति पुर्याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरि मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिई सक्नु भएको छ । गत शनिबार मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुख लगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले पुननिर्माणमा श्रोत अभाव हुन नदिने भन्दै मर्मत एवम् पुननिर्माणलाई तिव्रता दिन निर्देशन दिनु भएको थियो ।


















