शिवरात्रि स्नानपछि महाकुम्भले विदा लिएको छ । स्कन्द पुराणले भनेको छ: प्रकटं सर्वयागेभ्य: प्रयाग इति उच्यते । यसको अर्थ हो सृष्टिका क्रममा ब्रह्मा आदि देवताहरुले जहाँ ठूला यज्ञहरु गरे, त्यो ठाउँ प्रयाग हो । प्रकर्षो शब्दमा याग: प्रत्यय हुँदा प्रयाग हुन्छ, यसको अर्थ पनि ठूला ठूला यज्ञ हुने ठाउँ भन्ने बुझिन्छ । प्रयाग तीर्थको राजा हो । भारतको उत्तर प्रदेश, अलाहवादमा रहेको यो तीर्थमा अहिले महाकुँभ मेला लागेको छ, कराडौँ तीर्थयात्रुहरुले मेला भरिसकेका छन् । प्रयागे तु नरो यस्तु माघस्नानं करोति च । न तस्य फलसंख्यास्ति श्रृणु देपर्षिसत्तम ।। यसको अर्थ हो प्रयागमा माघ स्नान गर्नेको पुण्य गणना गर्न सकिन्न ।
प्रयागको माघको पुण्य भनेको कल्पबास हो । गंगा, यमुना र सरस्वती नदीको संगम हो यो । प्रत्येक बाह्र वर्षमा वृहस्पति वृष राशिमा र सूर्य मकर राशिमा भएका बेला कुम्भमेला लाग्छ भने कुम्भको छैठौँ वर्ष अद्र्ध कुम्भ हुन्छ । सम्राट हर्षबद्र्धनले हरेक कुम्भ र अर्धकुम्भमा यहाँ आएर धर्म सभा गर्ने गरे र असख्य दान धर्म गर्ने गरेको इतिहासविद्हरुको भनाइ छ । सौर्यमान अनुसार माघ १ गते देखि र अर्को चान्द्रमास अनुसार तिथिबाट पनि यहाँ मेला लाग्छ । गंगा र यमुनाको धारले पूरै प्रयागक्षेत्र ३ भागमा विभक्त छ, ती तीनै भाग यज्ञवेदी हुन्, मध्यभाग गार्हपत्यानि हो, गंगापारिको भाग आहवनीय अग्नि हो । यमुनापारिको भाग भने दक्षिणाग्नि हो ।
अघि देव दानवहरु मिलेर एक सम्झौता गरे । सबै वस्तुहरु पृथ्वीले आफ्नो गर्भगृहमा लुकाइदिँदा संसारमै आपत् आइलाग्यो । समुद्रलाई मथन गरे प्राप्त बस्तुको आधा आध विभाजन गर्ने सम्झौता थियो । हलाहल विष नै पहिले आएकाले शिवले पान गर्दा संसार दहन हुनबाट रोकियो भने, विस्तारै अन्य वस्तुहरु प्राप्त हुँदा भागबण्डा गरियो । अन्त्यमा अमृतको घडा प्राप्त भयो र अमृत खाएमा अमरत्व प्राप्त हुने थियो, जुन कुरा दानवहरुलाई यो दिन देवताहरु तयार थिएनन् । श्रीविष्णुले कूटनीति प्रयोग गरे मोहिनी अवतार लिइ मैले बराबरी बाँड्छु, लाइन बस भनिदिए । देवताहरु एकातिर बसे, दानवहरु अर्कोतिर । दानवमा राुह चलाख भएकाले देवता सूर्य र चन्द्रका बीच बसिदियो । अमृत बाँड्ने क्रममा उसले पनि खाइदियो, सूर्य र चन्द्रले थाहा पाएर मोहिनी अबतारलाई भनेपछि श्रीविष्णुले सुदर्शन चक्र प्रयोग गरी राहुको शिरच्छेदन गरे, तर ऊ अमर भइसकेकाले उसबाट अर्को केतु पनि त्यहाँ उदय भयो र नौ ग्रहमा अर्को थपिएर देवतासरह नै भयो ।
राहुले ईष्र्या राखी पाएसम्म आफूले नछोड्ने प्रतिज्ञा गरेकाले बेलाबखत सूर्य र चन्दमालाई औँसी र पूर्णिमामा ग्रहण लाग्ने गरेको छ । विज्ञानले जे भने पनि राहुले आफ्नो वर्चस्व देखाएको कुरा शास्त्रहरुमा वर्णित छ । अमृतको घडा खोस्ने क्रममा देवताका राजा इन्द्रपुत्र जयन्तले केही थोपा हात पारेको र वायुबेगले उड्ने क्रममा भारतको चार स्थानमा थोपा खसालेका कारण यीक्षेत्र अमृतमय भएको विश्वास अनुसार कुम्भमेला लाग्ने गरेको छ ।
इन्द्रपुत्र जयन्तले खसालेको अमृतको छिटा प्रयाग, नासिक, हरिद्दार र उज्जैनमा परेकाले हरेक १२ वर्षमा प्रयागमा कुम्भ स्नान, हरेक तीन /तीन वर्षमा अन्य स्थानमा कुम्भ स्नान हुने गरेको र कुम्भमा गंगास्नान गर्नु भनेको अमृतस्नान सरह भएको छ । बाह्र बाह्र वर्षमा लाग्ने प्रयागमा भने १४४ वर्षमा अहिले महाकुम्भ मेला लागिरहेको छ र संसारका हिन्दु अनुयायीहरु त्यहाँ पगेका छन्, अरु पनि छन्, भीडका कारण केही दूर्घटनाहरु पनि भएका छन् । नेपालीहरु जाडोयाममा यहाँ जाडो छल्न र गर्मीयाममा गर्मी छल्नैका लागि पनि भारतको बद्रीनाथ, केदारनाथ पुग्नेहरु धेरै छन् । सारा वैदिक साहित्यमा तीर्थराज प्रयागको चर्चा छ भने ऋग्वेदले ग्रहाणां च यथा सूर्यो नक्षत्राणां यथा शशी । तीर्थानामुत्तमं तीर्थं प्रयागाख्यमनुत्तमम् ।। भनेको छ यसको अर्थ हो: जसरी ग्रहहरुमा सबैका राजा सूर्य हुन् र ताराहरुमा श्रेष्ठ चन्द्रमा हुन् त्यस्तै तीर्थमा प्रयाग सर्वोत्तम हो ।
नेपालको आदिम ४ धाम मुक्तिनाथ, रुरुक्षेत्र, पशुपतिक्षेत्र र पूर्वको बराहक्षेत्र हो । सप्तकोशी र कोका नदीको संगम चतरादेखि केही पूवोत्तरक्षेत्र बराहक्षेत्र हो । अघि सम्पूर्ण पृथ्वीलाई असुर हिरण्याक्षले कव्जामा लिई लुकाएको र रसातलमा पुगेको त्यो जमिन भागलाई बंदेल अर्थात् बराहको रुप लिएर श्रीविष्णुले आफ्नो दाह्रामा राखी पृथ्वीको उद्धार गरेको प्रसंग श्रीमद्भागवतमा वर्णित छ । ईश्वरका प्रमुख दश अवतार मत्स्य, कुर्म, बराह, नृसिँह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की हो । दशावतारमा वराह तेस्रो र कतिपय नेपालीहरुको कुलदेव नै हुन् । हामी अहिले बौद्धावतारमा छौँ, कलि यसको नाम हो युगको, यसको पूर्णायु ४ लाख ३२ हजार वर्षको छ, हालको २०८१ भने ५ हजार १२५ औँ वर्ष हो कलिको । बराहक्षेत्र अत्यन्त ठूलो तपस्थली हो । सप्तकोशी र कोका नदीको संगमले यसको महत्व झन् बढेको छ । कोकाको शिर भने धरान बजारको टुप्पो विष्णुपादुका हो, बजारबाट करिव सवारीमा आधा घण्टामै पुग्न सकिन्छ र त्यहाँबाट धरान, चतरा लगायतका स्थानहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
ईशाको पाँचौ शताब्दी पूर्वमै बराहक्षेत्र अस्तित्वमा आइसकेको हो । भारतीय एक पुरातत्वविद्, अन्वेषकले सम्पादन गरेको पुस्तकको दामोदरपुर ताम्रपत्रमा हिमवच्छिखरे कोकामुख स्वामिन: चत्वार: कुल्यवापा: श्वेतवराह: स्वामिनोपि सप्त कुल्यवापा भन्ने उल्लेख भएको देखिन्छ । यो अभिलेख ई सं ४५३ को मानिएको छ । १८ पुराणमध्ये बराह पुराणमा यहाँको विस्तृत चर्चा गरिएको छ । स्कन्द पुराणमा लेखिएअनुसार प्राचीनकालमा काशीका एक ऋषिले काशीको विद्धत् सभाबाट कोशी नदीको महत्व बुझेर यहाँ स्नान गर्न आएका थिए ।
धरान सहरको पूर्वीडाँडोमा सतीदेवीको दाँत पतन भएको क्षेत्र दन्तकाली, अलिक तल बूढा सुब्बाक्षेत्र र अलिक तल पिण्डेश्र रहेको छ । समुद्र्रमथन गर्दा आएको अमृतको मूल घडा पिण्डरुप यही रहेको भन्दै केही वर्षअघिदेखि चतराधाममा कुम्भमेला लाग्ने गरेको छ । यसको श्रेय भने वालसन्त मोहनशरणले लिएका छन् । यता दामोदरकुण्डदेखि बग्दै आएकी कृष्णभा कालिगण्डकी विष्ण्णुप्रिया र गोशाइँकुण्डदेखि बग्दै आएकी त्रिशूली शिवप्रियाको संगम देवघाट चितवन र नवलपरासीको संगममा पर्छ जसलाई देवघाट भनिन्छ र यहाँ स्वर्गका देवताहरुले स्नान गर्न आउने भएकाले देवघट्ट अपभ्रँश भइ देवघाट भनिएको छ । माघ महिनामा बराहक्षेत्र, रुरुक्षेत्र, कलिगण्डकी, देवघाटमा तीर्थयात्रीहरुको असख्य भीड लाग्ने गरेको छ, अरु बेलामा पनि यीक्षेत्र साह्रै पावनी मानिएका छन् ।
यसपालि गोकर्णेश्वर नगरपालिकाले आप्mनोक्षेत्र गोकर्णको विश्वभरि नै प्रचार प्रसार गर्ने हेतुले त्यसक्षेत्रका करिव २ हजार भक्तहरुलाई लिएर झण्डै ६ दर्जन सवारी साधन सहित देवघाट मेला भरेको थियो । पंक्तिकार पनि यसमा सहभागी भएको थियो । देवघाट लगायत बराहक्षेत्र गोकर्णेश्वर नगरपालिकाकै वडा नं ९ का वार्ड अध्यक्ष राजिव थापाको नेतृत्वमा ३ ठूला सवारी सहित झण्डै ७ दर्जन भक्तहरुका साथ यो पंक्तिकार पनि चतराधाम बराहक्षेत्रको दर्शन, पिण्ड तर्पण कार्यमा समावेश हुने र त्यसक्षेत्रको इतिवृत्त महत्वहरु आमसन्चारमा प्रचार प्रसार गर्न सकेको थियो । भारतको प्रयाग लगायत विभिन्न क्षेत्रहरुको भ्रमण गर्दा भने शिरभाग छोडी यता किन आएको भन्ने भनाइ त कतिपय धार्मिकस्थलका भारतीयहरुले पंक्तिकारलाई नै भनेका छन् ।


















