६४ ज्योतिर्लिँगेश्वरको हाम्रो अर्को यात्रा यही चैत्र १४ र १५ गते हेटौँडाको नटारम्भेश्वरमा भएको छ । सिन्धुलीको कुशेश्वर ज्योतिर्लिँग आदिम र पशुपतिको रुद्रगारेश्वर शिवलिँग ६४ को अन्तिम ज्योतिर्लिँग हो । ६४ मध्ये सबैभन्दा कठिन यात्रा हो मकवारपुरको नटारम्भेश्वर । यो महाभारतको उच्च श्रृँखलामा पर्छ र यसको फेदभाग भनेको वाग्मती हो । ठिँगन भनिने ठाउँ वाग्मती पुलपछि हेटौँडा जाने बाटो दायाँ लागेर उकाली चढ्दै यहाँ पुग्न सकिन्छ । ललितपुरको सातदोबाटोबाट करिव ४५ कि मि दक्षिण हेटौँडा जाने बाटो भट्टेडाँडा, सात कन्या, बगुवा हुँदै वाग्मती नदीको प्राकृतिक मनोहर फेदी ठिँगनमा पुग्न सकिन्छ ।
विश्व हिन्दु महाँसघ, काठमाडौँले विगत दुई वर्षयतादेखि नेपालका १० जिल्लामा रहेका ६४ ज्योतिर्लिँगको दर्शन गराउने क्रममा रहेको र यो कठिन यात्राको क्रममा हामीले एक हाइस गाडी लिएर ललितपुर, चापागाउँ टिकाभैरव हुँदै उकाली लागेर भट्टेडाँडा हुँदै ठिँगन पुगेका हौँ । हेटौँडा ठिँगनको दूरी र सातदोबाटो ठिँगनको दूरी करिव एकै छ ।
ठिँगनबाट हामी तल्लो होमस्टेसम्म बलपूर्वक हाइस गाडीमा पुगेका हौँ । ठूला गाडीहरु जान सक्दैनन् । मोटरबाइक भने दोस्रो होमस्टे सम्म पुग्न सक्छ । पहिलो होमस्टेबाट ठाडै उकाली लाग्दा हिँढ्न सक्नेलाई डेढ्, दुई घण्टा समय लाग्छ, दोस्रो होमस्टे पुग्न । तर हामी फराकिलो बाटो गयौँ, केही घुम्ती भए पनि उकाली साह्रै असहज भएन, दुई घण्टा चानचूनमा हामी दोस्रो होमस्टेमा पुगेका हौँ । जम्मा दुई होमस्टेहरु रहेका छन् त्यहाँ, पहिलोका सन्चालक कठायत र उनका परिबार छन् भने दोस्रोका सन्चालक साँग्तेन बा र उनका परिबार छन्, तर दुबैका सन्तति, आफन्तहरु भने कोही सहरतिर छन् त कोही विदेशतिर । येनकेन तिनले तीर्थयात्रीहरुका लागि बास र भोजनको व्यवस्था गरेका छन्, दोस्रो होमस्टेमा २५ किलो चामल ढुवानी गर्न रु ५ सय बाइक भाडा छ भन्थे ती ।
पहिलो होमस्टे नजिकै रहेको आर्मी क्याम्पका केही मित्रहरु माथि जाँदै रहेछन्, मैले तिनलाई बस्तुस्थितिका बारे जानकारी लिएँ, तिनको सल्लाहअनुसार माथिल्लो होम स्टेका सन्चालकलाई मोबाइल सम्पर्क गरी हाम्रो टोलीको आबास र भोजनको प्रबन्ध गर्न भनेँ । हामी पुगेको निकैबेर पछि ती सन्चालक साँग्तेन बा आइपुगे । हाम्रो बास र खानाको व्यवस्था त हुने भयो तर खाना, सर्जाम तयारी गर्न धेरै समय लाग्यो, सामान्य खाना, लोकल मासको दाल र गुन्द्रुक, अनि बास समेतको जनही रु ५ सयको खर्च लाग्ने भयो । तर भ्mयाल ढोकामा खापा नभएको, शैचालय निकै पर रहेको अस्था देखियो । परिचयको क्रममा साँग्तेन बा ले करिव २० वर्षअघिको हाम्रो अर्को समूहले त्यहाँको यात्रा पूरा गरी ६४ ज्योतिर्लिँग सहितको यात्रा विवरण र फोटाहरु सजिएको चित्र देखाउँदै पुरानो याद दिलाए । मुस्किलले रात बित्यो, भेलिपल्ट विहानै उकालीको शुरु भयो हाम्रो ।
तल्लो होमस्टेबाटै नटारम्भेश्वर रहेको पहाडको शिखर, त्रिशूल ठूलो देखिन्छ, तल्लो होमस्टेबाट माथिल्लो होमस्टे पनि आँखैले देखिन्छ तर यात्रा दुरुह छ । रात्रिबास पछि उकाली लाग्दै गर्दा घना जंगलमा केही दूरी सिमेन्ट सिँढीहरु छन् तर सिँढी सकिनासाथ हामी अल्मलियौँ र पानीको पाइप अन्दाज गर्दै सिधै उकाली चढ्यौँ जहाँ कामी करिब हरायौँ, लठीको सहाराले ढुँगामाथि अर्को चुचुरो परेका ढुँगा हिँड्दै लामो सुस्केरा हाल्दै उक्लियौँ, निर्जन बन सुनसान छ सबैतिर, चितुवाको गन्ध आयो भन्दैछन् साथीहरु । निकैबेर पछि मान्छे हिँड्ने संकेत सानो बाटो उकाली चढ्दै हामी करिव दुई घण्टा बढी हिँडेर शिखरमा पुग्यौँ, जहाँ केही चौतारी, पूजासामा, चिया खान सक्ने झुप्रा पसलहरु छन् ।
पसलेहरुले पश्चिमतिर देखाउँदै भने ऊ त्यही हो तपाइँहरु पुग्नु पर्ने । अभैm टाढा पो रहेछ त । तेर्सो सानो बाटो लाग्दै गर्दा पूरै ओराली पो शुरु भयो जहाँ दुईतिर डण्डी समातेर मुस्किलले हिँड्नु पर्ने रहेछ, समात्ने डन्डी नहुँदो हो भने बूढाबुढीहरुको राम नाम सत्य होला जस्तो धारिलो भिर दुबैतिर, लठीको सहाराले बल्लतल्ल ओराली सकेँ मैले, अगाडिका मित्रहरु कुदे, पछडिका मित्रहरु धेरै पछि नै छन्, जसोतसो उकाली हैँ हैँ गर्दे फेरि उपल्लो शिखर पुगियो जहाँ चारैतिर भीर बाहेक केही छैन र दक्षिणतिर मकवानपुरका हरियाली सजिलै देख्न सकिन्छ, फाँटहरु, सहर पनि ।
नटारम्भेश्वर शिव:
यत्र नृत्येश्वरं लिगं त्रिकूटाद्रौ विराजते । ब्रह्मतीर्थे द्धिज: स्नात्वा नृत्येश्वरमपूजयेत् ।। (स्कन्द पुराण १०४ अध्याय, श्लोक ३)
गोटिखेल कालेश्वर शिवलिंगको पश्चिम १२ कोश त्रिकुटाचल पर्वत, ब्रह्तीर्थ समिप नटारम्भेश्वर रहेको स्कन्द कुमारले अगस्त्यमुनिलाई बताउनु भएको हो । अघि तारकासुरले ५ वर्ष उमेर माथिकाले मेरो मृत्यु गराउन नसकून भन्ने मागमा ब्रह्माबाट आशीर्वाद पाएको थियो । तारकासुरले यो वरदान पाएर सबैतिर असह्य पिडा दिन थालेपछि यस पर्वतमा आएर देवताहरुले शिवजीलाई प्रसन्न पारी तारकासुरको अन्त्य गर्ने प्रयास गर्दा देवताहरु संगै श्रीशिव यहाँ आएर नृत्य, नाच मण्डलीमा रही मेरो पुत्र कार्तिकेयले त्यो दैत्यको बध गर्नेछ भनी देवतालाई आश्वासन दिनु भएको र यसै पर्वत श्र्रृँखलामा नाट्वेश्वर शिव लिँग स्थापना गरिएकाले यहाँको नाम नटारम्भेश्वर भएको हो । ने मुनिबाट विरुपाक्षलाई वैशाख कृष्ण औँसीमा दर्शन गराइएको थियो यहाँ, यो क्रम संख्यामा १६ औँ पर्छ । प्राचीन समयमा एक देव शर्मा ब्राह्मण लोभले बानर भएका र यहीँ आएर दर्शन गर्दा पाप मुक्त भएको प्रसंग स्कन्द पुराणमा उल्लेख छ । बाटाघाटाहरुमा नटारम्भेश्वरको नाम लटारम्भेश्वर लेखिएको पाइयो, एक स्थान जुन विद्यालयको साइनबोर्डमा मात्र सही नाम नटारम्भेश्वर लेखेको देखियो ।
हाम्रो समुह करिव डेढ् दर्जनको थियो, रुद्राभिषेक, पूजा, आरती गरेर हामी फर्केका हौँ र हिजो बास बसेको होमस्टेलाई धन्यवाद दिँदै तल्लो होमस्टेमा आएर खाना खायौँ । तल झर्न पनि सहज त छैन, तर बूढाबूढी उमेरकालाई लठी सहारा लिनु राम्रो हो । नव तन्नेरीहरु त काठमाडौँबाट बाइकमा गएर तुरन्ते फिर्ता भएका पनि पाइयो । तल झरेर हामी वाग्मती, बगुवा हुँदै ललितपुर फर्कँदा केही यात्रुहरुले बाटैमा पर्ने टिका भैरवका रामेश्वर, सुनाकोठीमाका भृँगेश्वरको पनि दर्शन गरेका थिए ।


















