हुथी विद्रोहीहरूले गरे इजरायलमाथि मिसाइल प्रहार

यमनका हुथी विद्रोहीहरूले बुधबार इजरायलमाथि मिसाइल प्रहार गरेका छन् । अमेरिकाले हुथी विद्रोहीहरूलाई निरन्तर निशाना बनाइरहेको समयमा यो आक्रमण भएको हो ।

हुथी आतंककारीहरूको आक्रमणका कारण हाइफा, क्रायोट र इजरायलका अन्य क्षेत्रहरूमा साइरन बजेको थियो । यसले गर्दा मानिसहरू त्रस्त बनेका थिए । हताहती रोक्न सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानहरूमा सरेका थिए । आक्रमणमा हताहतको खबर नआएको र क्षेप्यास्त्रहरू सम्भवतः आकाशमै नष्ट गरिएको इजरायली सेनाले बताएको छ ।

हुथी विद्रोहीहरूले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएका छैनन् । अमेरिकाले मार्च १५ देखि हुथीहरूमाथि आक्रमण तीव्र पारेको छ । तर हुथीहरू आफ्नो गतिविधिबाट टसका मस भएका छैनन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डले पनि इजरायलमा हुथी विद्रोहीहरूको आक्रमणबारे कुनै जानकारी शेयर गरेको छैन ।

इजरायलले गाजामा गरेको आक्रमणको बदला लिन हुथीले लाल सागर भएर जाने जहाजहरूलाई निशाना बनाइरहेको छ । यसलाई रोक्न अमेरिकाले हुथी विद्रोहीहरूमाथि कारबाही सुरु गरेको थियो ।