लन्डन उच्च अदालतले बिहीबार लन्डन जेलमा रहेका भारतीय हीरा व्यवसायी नीरव मोदीको नयाँ जमानत निवेदन खारेज गरेको छ । नीरव मोदी विगत छ वर्षदेखि बेलायती जेलमा छन् र भारत सुपर्दगीविरुद्ध लडिरहेका छन् ।
उनीमाथि पञ्जाब नेशनल बैंक (पीएनबी)मा भएको १ खर्ब ३० अर्ब भारु घोटालाको आरोप छ । यो घोटला उनले आफ्ना काका मेहुल चोक्सीसँग मिलेर गरेको भनिएको छ ।
‘नीरव मोदीले दायर गरेको नयाँ जमानत याचिका बिहीबार लन्डनको किङ्स बेन्च डिभिजनको उच्च अदालतले खारेज गरेको छ ।’ सीबीआईले एक विज्ञप्तिमा भनेको छ । नीरव मोदीलाई २०१९ को मार्च १९ मा लन्डनको होबर्नस्थित मेट्रो बैंक शाखाबाट पक्राउ गरिएको थियो । यहाँ उनी आफ्नो बैंक खाता खोल्न गएका थिए ।
२०१८ को सुरुवातमा पञ्जाब नेशनल बैंकमा हजारौँ करोड रुपैयाँको घोटाला बाहिर आयो । त्यसपछि बैंकले मेहुल चोक्सी, नीरव मोदी र अन्य धेरै विरुद्ध उजुरी दर्ता गरेको थियो ।


















