रूसद्धारा युक्रेनको राजधानी किभलाई लक्ष्क्षीत गरेर मिसाइल प्रहार

 

आइतबार बिहान राजधानी किभमा लक्ष्य गरेर रूसले मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रूसले प्रहार गरेको मिसाइल र ड्रोनहरू किभको हवाइ प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको छ। यद्यपि ७ जना घाइते भएको र एउटा अपार्टमेन्टमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन ।

शनिबार दुवै देशले युद्धबन्दी रिहा गरेपछि रूसले युक्रेनको राजधानी लक्ष्य गरेर हवाई आक्रमण गरेको हो।

बितेको चौबीस घन्टामा रूसी आक्रमणबाट युक्रेनमा १३ जनाको मृत्यु भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

पूर्वी दोनेत्स्क प्रान्तमा चार जना, दक्षिणी खेरसन र ओडेसामा पाँच जना, उत्तरी खार्किभमा चार जना रूसी हमलामा मारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

युक्रेनको वायुसेनाले रूसबाट १४ वटा मिसाइल र २५० वटा भन्दा बडी ड्रोन हमला भएको बताएको छ। तीमध्ये कैयौं हमला राजधानी किभतर्फ लक्षित थियो।

किभलाई लक्ष्य गरिएको ६ वटा मिसाइल र २४५ ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गरेको पनि सिएनएनले जनाएको छ।

किभका मेयर विटाली क्लित्स्कोले धेरै आवासीय भवनहरू ध्वस्त भएको बताएका छन्। उनका अनुसार राजधानी रहेको सहरमा रातभरि साइरन बजिरहेको थियो भने विस्फोटका ठूला आवाजहरू आइरहेका थिए। आवासीय भवनहरूमा आगो बलिरहेको र सहरभरि भग्नावशेषहरू छरिएको उनले बताएका छन्।

रूस र युक्रेनबीच गत साता टर्कीको इस्तानबुलमा वार्ता भएको थियो। उच्चस्तरीय वार्ता नभएका कारण युद्धविरामबारे सामान्य छलफल मात्रै भएको थियो।

वार्ताबाट दुवै देशले एक÷एक हजार युद्धबन्दी रिहा गर्ने सहमति भएको थियो।

सहमतिअनुसार शुक्रबार दुवै देशले ८ सय र शनिबार ६ सय युद्धबन्दी आदानप्रदान गरेको थियो।