सामाजिक सञ्जालमा उल्लिखित एक ऐतिहासिक दस्तावेजका विषयमा मेरा प्रिय विद्यार्थी सहकर्मी मित्र प्राध्यापक डाक्टर ज्ञानबहादुर कार्कीले जिज्ञासा राख्नुभयो । अतः उक्त विषयमा चिन्तनमनन गर्दै जाँदा यस लेखले यो स्वरूप लिन पुगेको हो। उक्त दस्तावेजको भाषा उतार निम्नअनुसार रहेको छः

श्री ५ युवराज धिराज का विवाह को ९७ साल वैसाख २६/२७ गतेको सावीक दाखिला
श्री ५ युवराज धिराज का विवाह को काम लाई देहाय बमोजीं सुन चादी नोट् मोरू श्री ५ महाराजा धिराज का वाहुली दाखिल गर्न नारायण हीटी माथील्ला दर्वार तहसिल अडा का हाकीं हस्ते खर्च लेखिदीनु भंने कौसीतोसा खाना का नाउँमा भएका ९६/१०/२५ का खड्ग निशाना वमोजीं ——————
सुन तोला ———– १४,७६०.८० चादी तोला ———- १००००
नोट् रू ——— १५९१४०/- मोहरू ———— १६,१५६/-
नारायण हीटी तहसिल अडा का हाकीं हस्ते दीने कौसी तोसा खानाका नाउँमा भयका ९७/१/२० का खड्ग निशाना वमोजीं असर्फी थान्
बाक्ला थान ———– २० पातला ——– ८
विसं १९९७ सालमा युवराजधिराज महेन्द्रको विवाहको समय श्री ३ जुद्धशमशेरको आदेशानुसार कौसी तोसाखाना अड्डाबाट उल्लेख भएअनुसार सुन, चाँदी र असर्फी तथा नगद नारायणहिटी तहसिल अड्डामा बुझाई सोही अड्डामार्फत श्री ५ महाराजाधिराज त्रिभुवनका बाहुलीमा दाखिल भएको देखिन्छ। श्री ५ लाई सांस्कृतिक राष्ट्र प्रमुख बनाई आमोदप्रमोदमा भुल्याई दरबारमा कैदी सरह राख्ने शासनका सर्वेसर्वा राणा श्री ३ ले युवराजको विवाहका लागि राष्ट्रिय ढिकुटीमा अरु धेरै खर्च कति गरे ? सोको लेखाजोखा हुँदै गर्ला । नगद सुन चाँदी नै त्यति ठूलो परिमाणमा उपलब्ध गराएको विवरण हेर्दा विवाहमा भएको अन्य खर्च सहजै अनुमान गर्न सकिन्छ। यस ऐतिहासिक आलेखले तत्कालीन राणा इतिहासका विविध पक्ष खोतल्न खुराक प्रदान गर्नेछ भनी अपेक्षा गर्न सकिन्छ ।
युवराज महेन्द्रको विवाह श्री ३ जुद्धशमशेरकी नातिनी हरिशमशेरकी छोरी इन्द्रसँग भएको थियो। जङ्गबहादुरले पदप्रतिष्ठा प्राप्त गरे पनि राजासरहको सामाजिक हैसियत प्राप्त थिएन। त्यसैले उनी पिरोलिएका थिए । त्यसैले आफ्नो उच्च वंश देखाउन भित्तौरका ठाकुर खानदानसँग जोडेको वंशावली नै तयार पार्न लगाए। हुन त मुसलमान शासकबाट शाहको उपाधि पाएका खान राजाहरू शाह ठकुरी नाममा स्थापित भए। यी शाह मगरसँग सम्बन्धित हुनसक्ने विषयमा पनि चर्चा परिचर्चा हुने गरेको छ। त्यतातिर नलागौं । जङ्गबहादुरले आफ्ना छोरी दुई छोरीको विवाह श्री ५ सुरेन्द्र पुत्र युवराज त्रैलोक्यसँग गराएका थिए। यो वैवाहिक सम्बन्धबाट दरबारभित्र पनि आफ्नो बलियो सूत्र प्रवेश गरेको र आफ्नो सामाजिक हैसियत पनि राजासरह भएकोमा गर्व गरे।
यिनै त्रैलोक्यका रानीहरूले कालन्तरमा आफ्ना सहाेदर भाइलाई साथ नदिई काकाका छोराहरू वीरशमशेर र उनका भाइलाई समर्थन गरी जङ्गबहादुरले स्थापित गरेको राणा शासन धीरशमशेरका छोराहरूमा मात्र सीमित राख्ने कार्यमा सहयोगी भए। राजा त्रिभुवनका लागि भने राणा परिवारमा उपयुक्त कन्या नपाउँदा हिन्दुस्तानका रजौटाका कन्याहरूलाई डोला झिकाई विवाह गरिएको थियो। पृथ्वीविक्रमकी छोरीको भने चन्द्रशमशेरका छोरा केशरशमशेरसँग विवाह भएको थियो। तर, कालन्तरमा उनके केशरशमशेरसँग पारपाचुके भयो । नेपालमा विधिवत् पारपाचुके भएको सम्भवत यो नै पहिलो घटना थियो । तत्कालीन अवस्थामा राजपरिवारसँग वैवाहिक सम्बन्ध राखी राणा शासनलाई श्री ५ बाट अनिष्ट हुन नदिने रणनीति राणाहरुले अख्तियार गरेका थिए।
राजा त्रिभुवनलाई राणाहरूले सुरासुन्दरी तथा आमोदप्रमोदमा राखी उक्त प्रयोजनका लागि आवश्यक परेको खर्च उदारतापूर्वक उपलब्ध गराएका थिए। तर, त्रिभुवन राणा शासकसँग प्रसन्न नहुँदा नहुँदै पनि महेन्द्रको विवाह जुद्धशमशेरकी नातिनी इन्द्रराज्य लक्ष्मीसँग गर्न राजी हुनुपर्यो। यसमा युवराज महेन्द्रकै इच्छा र चाहनाले मूर्त रुप लिएको प्रतीत हुन्छ। जङ्गबहादुरपछि आफ्नै नातिनीको विवाह युवराजसँग गराउन पाएकोमा जुद्धशमशेर प्रफुल्लित भएकै कारण त्यति धेरै सुन चाँदी विवाहका लागि उपलब्ध गराएको पनि हुनसक्छ। सोही बेलादेखि जुद्धशमशेरको परिवार र राजदरबार बीचको सम्बन्ध दरिलो भयो भने चन्द्रशमशेरका सन्तति टाढा हुँदै गए। यसै कारण युवराज दीपेन्द्रले चाहँदा चाहँदै पनि चन्द्रशमशेरका सन्ततिसँग विवाह हुन नसकी त्यति ठूलो रडाको मच्चिएको थियो।
राजदरबारको लागि वार्षिक खर्च राणा श्री ३ ले नै तोक्ने गरेका थिए। त्यसबाहेक विशेष पर्व, उत्सव र सामाजिक कार्यमा अतिरिक्त बजेट राष्ट्रिय ढिकुटीबाट दरबार जाने गरेको थियो। राजकन्याको विवाहको समयमा सबै कर्मचारी, जमिनदार, मुखिया लगायत सम्मान हैसियतवालाहरूले गोडधुवाका नाममा रकम नै दरबार पठाउने चलन थियो। प्रत्येक सालमा हुने पजनीबाट थमौती, सरुवा बढुवा हुनेले दाम राखी दर्शन गर्नुपर्ने व्यवस्था थियो। उक्त दाम राखी दर्शन गरेपछि मात्र नोकरी पक्का हुन्थ्यो । यसैगरी उच्च राणा परिवारले पनि श्री ५ मा असर्फी राखी दर्शन गर्ने चलन थियो। एकपटक विशेष प्रयोजनका लागि राजा त्रिभुवनले चाहेजति रकम निकासा नगरी थोरै पठाउँदा सोही नोट जलाएर चुरोट सल्काएका थिए भन्ने हल्ला चलेको थियो।
यस अालेखमा कौसी तोसाखाना, खड्ग निशाना अड्डा र नारायणहिटी तहसिल अड्डा गरी तीन अड्डाको उल्लेख गरिएको छ। ती अड्डाको विषयमा केही विचार गरौं। पृथ्वीनारायण शाहकै पालामा स्थापित गरिएको एक केन्द्रीय कार्यालय थियो। राणाकालपूर्व मुलुकको आम्दामी र खर्च गर्ने काम यसै अड्डाबाट हुन्थ्यो । जङ्गबहादुरले मुलुकीखाना अड्डा स्थापना गरेपछि खर्च गर्ने कार्य कौसी तोसाखानाबाट हुन थाल्यो। यसै कार्यालयले राज्यका सबै कर्मचारीहरूको तलब, प्राइम मिनिस्टरको आदेशअनुसार विभिन्न कार्यालय र कर्मचारीहरूलाई सापटी पेन्सन मन्दिरहरूको पूजाआजाको आदि र दरबारको राज्यरोहण, विवाह, व्रतबन्ध, पास्नी, मृत्यु आदिको प्रबन्ध पनि यसै अड्डाको कार्य थियो। कार्य प्रकृतिका अाधारमा याे आजको बैंकिङ व्यवस्था हो।
खड्ग निशाना अड्डा श्री ३ एवं प्राइम मिनिस्टरको निजी सचिवालय र राणाकालको सर्वशक्तिमान अड्डा थियो। श्री ३ बाट जारी हुने आदेशलाई खड्ग निशाना भनिन्थ्यो। यसमा श्री ३ को बाहुली निशाना खड्ग त्रिशुल र इष्ट देवताको नाम लेखिएको हुन्थ्यो। यसमा श्रीतिनको दस्तखतको रबर स्टाम हुन्थ्यो जो उनैसँग मात्र रहन्थ्यो। ऐन बनाउन, संशोधन गर्न, टिप्पणी (साधक) सदर गर्न, बिर्ता प्रदान गर्न, जुवा फुकाउन, मिनाहा, बकस, राजदरबारलाई अतिरिक्त खर्च निकासा जस्ता कार्य खड्ग निशाना मार्फत नै हुन्थ्यो। संक्षेपमा देशको कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका हालका सरकारका तीन प्रमुख अङ्ग यसै अड्डाको कार्यक्षेत्र पर्दथे।
काठमाडौँ उपत्यकाको मल्ल राज्य पहिले ४ र पछि ३ छुट्टाछुट्टै राज्य भएपछि कान्तिपुरका राजाहरू हनुमानढोका दरबारमा रहन्थे। यसैमा राजाको कार्यालय र निवास रहेकाे थियाे । पृथ्वीनारायण शाहले पनि यसै दरबारलाई नै आफ्नो निवास बनाए । यो परम्परा राजा पृथ्वीविक्रमको पालासम्म रह्यो। नारायणहिटी दरबारमा श्री ३ रणोद्दीपको थियो र उनको हत्यापछि राजालाई हनुमान ढोकाबाट नारायणीटी दरबारमा स्थानान्तरण गरिएको थियो। राजदरबार तथा बाहिरबाट आउने सम्पूर्ण नगद र जिन्सी साथै यसै प्रयोजनका अन्य सामानहरू नारायणहिटी तहसिल अड्डामार्फत श्री ५ र राजपरिवारका सदस्यसमक्ष पेस हुन्थ्यो। राष्ट्रिय ढुकुटीको दोहन गरी श्री ५ लाई सन्तुष्ट बनाई आफ्नो राजनैतिक दुनो सोझ्याउने रणनीति तत्कालीन अवस्थामा राणाहरूले अख्तियार गरेका थिए।
उल्लिखित दस्तावेज विसं १९९७ मा तत्कालीन युवराजाधिराज महेन्द्रको विवाहका लागि सुन १४७६०.८० तोला, चाँदी १०,००० तोला, भारतीय नोट १,५९,१४०।- र नेपाली मोहर १६,१५६।- र असर्फी बाक्लो (१ तोला बराबरको) २० र पातलो (आधा तोला बराबरको) ८ खड्ग निशानाबमोजिम कौसी तोसाखानाले नारायणहिटी दरबारको तहसिल अड्डामार्फत श्री ५ लाई उपलब्ध गराएको देखिन्छ । विसं १९९७ ताकाको नेपालले युवराजको विवाहमा राष्ट्रको ढिकुटीबाट भएको सुन, चाँदी र नगद निकासा भएबाट राष्ट्रिय सम्पत्तिको दोहन कसरी हुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ। राष्ट्रको कुल आयको २५ देखि ३० प्रतिशत श्री ३ का लागि प्रयोग हुने अनुमान गर्न सकिन्छ। राजाको नामाङ्कन गरिएका सुनका सिक्कालाई असर्फी भन्ने चलन यद्यपि चलेको छ। मुगल शासकले सुनको सिक्का असर्फी चलनचल्तीमा ल्याएका थिए । सो असर्फीमा उर्दु भाषा सम्बन्धित शासकको नाम लेखिएको हुन्थ्यो। त्यसैले होला उर्दु अक्षरको नक्कल गर्दै असर्फीमा उल्लेख गर्ने प्रचलन हाल पनि यदाकदा रहेको पाइन्छ । नेपालमा हिजोसम्म भारतीय मुद्रा (सिक्का)को प्रचलन व्यापक थियो। जुन कार्य महेन्द्रको शासनकालमा अन्त्य भयो । नेपालमा नोट निष्कासन विसं २००० सालमा ५, १० र १०० दरका नोट प्रकाशन भएको पाइन्छ । उक्त दस्तावेजमा उल्लेख नोटले चाहिँ भारतीय मुद्रासँग सरोकार राख्दछ।
श्री ५ को परिवार, श्री ३ को परिवार एवं रोलवाला राणा, उच्च पदस्थ राणाहरू, गुरुज्यू एवं भारदारहरूको सुख सुविधाका लागि राष्ट्रिय आयको ६०% खर्च हुने र बाँकी ४०% बाट मुलुकको अन्य खर्च हुने गरेको अनुमान गर्न सकिन्छ। प्रत्येक साल राष्ट्रिय आयबाट खर्च भई बचत भएको रकम श्री ३ कै सम्पत्ति ठहर्दथ्यो। माथिको सानो तत्कालीन टिपोटले यस्ता धेरै प्रश्न खडा गरेको छ। जसको सम्बोधन गर्न अध्ययन अनुसन्धानको खाँचो छ। यदि यसो भएमा सत्यतथ्य घटना प्रकाशमा आई नेपालको इतिहास लेखन विधालाई नै मलजल पुग्ने अपेक्षा गर्न सकिन्छ।
(प्रा कार्कीलाई धन्यवाद छ, जसको कारण यस लेखले यो स्वरूपमा जन्म लियो ।)



















