इरानमाथि इसराइलले ग्यो ब्यालिस्टिक मिसाइल र ड्रोन हमला , इरानले भन्यो आक्रमणको कडा जबाफ दिन्छौ ।

इसराइलले इरानमाथि आक्रमण गरेको छ। शुक्रबार बिहान इसराइलले इरानको आणविक भट्टी र लामो दुरीका मिसाइल कारखानालाई लक्ष्य गरेर आक्रमण गरेको हो।
स्थानीय सञ्चारमाध्यमहरुले इसराइली आक्रमणपछि ठूला ठूला भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको तस्बिर र भिडिओ सार्वजनिक गरेका छन्।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको आणविक भट्टी र मिसाइल कारखानामा लक्ष्य गरेर आक्रमण गरिएको बताएका छन्।
उनले ती योजनाहरू इसराइलका लागि खतरा भएकाले त्यहाँ आक्रमण गरिएको भनेका छन्। इरानमाथिको आक्रमणलाई प्रधानमन्त्री नेतन्याहूले ’अपरेसन राइजिङ लायन’ भनेका छन्।

“केही समय अघि, इसराइलले अपरेशन राइजिङ लायन सुरु गर्यो, जुन इसराइलको अस्तित्व रक्षाका लागि इरानी खतरालाई हटाउन लक्षित सैन्य अपरेशन थियो,’ नेतन्याहूले टेलिभिजन सम्बोधनमा भने।
उनले आक्रमण केही दिन जारी रहने पनि बताएका छन्। ’यो अपरेशन यो खतरा हटाउन जति दिन लाग्छ त्यति दिनसम्म जारी रहनेछ,’ उनले भनेका छन्।

इसराइलको आक्रमणमा इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का प्रमुख मारिएका छन्।
शुक्रबार बिहान इसराइलले गरेको आक्रमणमा आइआरजिसीका कमान्डर इन् चिफ मेजर जनरल हुसेन सलामीको मारिएको बताइएको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर आइआरजिसी हुसेन मारिएको बताएका हुन्।
उनलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले सन् २०१९ मा आइआरजिसीका कमान्डर इन् चिफ नियुक्त गरेका थिए।
आक्रमणमबाट अरू सैन्य अधिकारी पनि मारिएको बताइएको छ। इसराइलले ६ वटा सैन्य इलाका, नतान्जको आणविक भट्टी, सैन्य अधिकारीहरूलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको हो। अमेरिकाल भन्यो संलग्नता छैन ।

इसराइलले इरानमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले पनि इरानलाई चेतावनी दिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक वक्तव्य जारी गर्दै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्। उनले इसराइलले इरानमा गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहने पनि बताएका छन्।

’इरानमाथि इसराइलले गरेको आक्रमणमा हाम्रो संलग्नता छैन। मध्यपूर्वमा रहेका हाम्रा सैनिकहरूको रक्षा हाम्रो पहिलो दायित्व हो। इरानले जबाफी हमलाको रूपमा हाम्रा सैनिक शिविरमा आक्रमण नगरोस्,’ रूबिओले भनेका छन्।

इसराइली आक्रमणको जबाफ दिने
इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले इसराइली आक्रमणको जबाफ दिने बताएका छन्। शुक्रबार बिहान इसराइलले इरानमाथि ब्यालिस्टिक मिसाइल र ड्रोन हमला गरेपछि खामेनीले त्यसको जबाफ दिने बताएका हुन्।

उनले इरानले दिने जबाफ कडा र कठोर हुने चेतावनी दिएका छन्। ’यो अपराधका साथ यहूदी शासकले आफूलाई तीतो र पीडादायी भाग्यको लागि तयार पारेको छ र उसले यसको परिणाम भोग्ने निश्चित छ,’ खामेनीले भनेका छन्।