विद्यादेवीको नजरमा केपी ओली नायक कि धोकेवाज ?

शब्द र संगीत सुबास कार्की, मेल भर्सनमा शिव परियार, फिमेल भर्सनमा एलिना चौहान, र चाइल्ड भर्सनमा सुप्रिम मल्लले गाएको नेपालीमा एउटा गीत युवाहरु बिच निकै चर्चित छ धोकेवाज हौ तिमी । सायद यो गीतलाई प्रेम गर्नेले प्रेममा धोका बुझ्लान, व्यवसाय गर्नेले व्यवसायमा, राजनीति गर्ने राजनीतिमा धोका । सम्भवत पछिल्लो समय केपी ओलीलाई बिगतमा साथ दिदै आएकी पुर्वराष्ट्रपति विद्यादेबी भण्डारीलाई पनि केपी ओलीलाई पनि धोकेवाज हौ तिमी भन्न मन लाग्छ होला । अनि भन्न मन लाग्छ होला केपी ओली “तिमी नायक होइनौ, मेरै साथले अगाडी बढेका स्वार्थी खेलाडी हौ” ।

त्यसो त पुर्वराष्ट्रपति भईसके कि विद्यादेबी भण्डारीलाई राजनीतिमा परापूर्वकालदेखि नै सबै थोक प्रयोग हुँदै आएको कुरा ज्ञान नहुने कुरै भएन । रामायण पढ्ने हो भने त्रेता युगमा समेत छलकपट, बेइमानी धुत्र्याइँको राजनीति मौलाएको देखिन्छ । द्वापर युगको कुरा गर्दा छलकपटका धेरै उदाहरणहरू महाभारत ग्रन्थमा प्रस्तुत गरिएको छ । भगवान मानिएका श्रीकृष्ण स्वयंले धेरै प्रकरणमा छलकपट प्रयोग गरेका छन् ।’कलियुगको कुरा गर्ने हो भने चाणक्यलाई सम्पूर्ण शास्त्रका ज्ञाता मानिन्छ । तर चाणक्यले पनि राजनीतिमा छलकपटलाई परास्त गर्ने सहारा छलकपटलाई नै लिएको देखिन्छ ।

नेपालको राजनीति हेर्दा पनि त्यस्तै छ । राणाहरूको शासनकालमा आपसमा शक्ति संघर्ष, षड्यन्त्र, धोका र विश्वास घातका थुप्रै उदाहरण पाइन्छन्। जंगबहादुर राणाले १८४६ मा कोत पर्वको रात नरसंहार गराएर आफूलाई शक्तिमा ल्याए। त्यो बेला उनले आफ्नै परिवारका सदस्यहरू समेत प्रयोग गरे, तर पछि सत्तामा पुगेर धेरै सहकर्मी र भाइहरूको वध या बहिष्कार गरे । १८८५ मा रणोद्वीप सिंह र उनका समर्थकहरू मारिए। यो घटना राणा परिवारभित्रकै भाइभाइबीचको विश्वासघात र धोका थियो।

पुराना प्रसंगमा नजाउँ, पछिल्ला केही दशकदेखि नेपालका हरेक छलकपटका घटनाहरू छिटोछिटो पुराना हुन थालेका छन् । एउटा छलकपटको घटनालाई अर्को छलकपटको घटनाले ओझेलमा पार्न थालेको छ । जनताको भरोसा जितेर सत्तामा पुग्ने अनि सत्ता चलाउनुभन्दा पहिले आफ्ना गुट, कुटुम्ब, सत्ताको सुरक्षा र आर्थिक लाभमा केन्द्रित हुनेहरुले गर्ने नै छलकपट हो ।

नेतृत्व त्याग, आदर्श र सेवाको पर्यायवाची हुनुपर्ने हो, तर नेपाली राजनीतिको सन्दर्भमा त्यो अर्थ एकदमै विपरित दिशातिर मोडिएको छ । यहाँ नेतृत्व भनेको पदको लोभ, सम्पत्तिको होड, र जनताको विश्वासमाथिको घातको अर्को नाम बनेको छ। हो, यही प्रवृती देखाएका हुन केपी ओलीले कतिपयलाई लाग्न सक्छ ओलीले कसरी धोका दिए विद्यादेवी भण्डारीलाई राष्ट्रपति भएको व्यक्ति राजनीतिमा नआउन् ठिकै हो ।ओलीले ठिकै गरे । विषय राजनीतिमा आउने नआउने भन्दा पनि मैले राज्यबाट लिने कुनै सुविधा लिदिन । बाँकी जीवन पार्टीमा आवद्ध भएर जनताको सेवा गर्दछु भन्दा सेवा गर्न किन नपाउने यो त व्यक्तिको बैयक्ति स्वतन्त्रताको कुरा हो । विदेशकै कुरा गर्दा पनि अमेरिकामा राष्ट्रपतिको पदबाट निवृत्त भएपछि पनि डोनाल टम्प, बाराका ओभामा पार्टीमा सक्रिय भए टम्म त पुन: राष्ट्रपति नै भए । नेपालमा पनि कोही जनता बिचमै बस्छु जनताको सेवा गर्दछु मन्दिरकीदेवी जसरी बस्दिन भन्छ भने के त्यो उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो, यसमा अरुलाई आपक्ति भयो त ? फेरी केपी ओलीले यति बेला विद्या भण्डारीलाई पार्टीमा आउन नदिनुको आसय राजनीतिमा एउटा मुल्य स्थापीत गर्ने भन्दा पनि विद्या भण्डारी पार्टीमा आए भावी नेतृत्व दावी गर्न सक्छिन् त्यस बेला आफु तेस्रो कार्यकाल पार्टी अध्यक्ष बन्छु भन्ने सपना पुरा हुन्न भन्ने हो ।

त्यसो त कतिपयलाई लाग्न सक्छ, केपी ओली कसरी धोकेवाज भए आज ओली जहाँ छन्, उनी आफ्नो योग्यता, त्याग, योगदान र समर्पणले नै पुगेका हुन् । यसमा विद्या भण्डारीको के योगदान छ र ? तर, यथार्थ त्यस्तो हैन, उनले आज हासिल गरेको सफलतामा उनी आफूले गरेका छलछामहरू, अरूलाई दिइएका धोकाहरू र आफ्नो बारेमा बनाइएका भाष्यहरूले काम गरेका छन । उनको जादूगरी वाकपटूता र एमाले भित्रकै विद्या लगायतको सहयोगले हो ।
मदन भण्डारीको अवसान पछि माधव नेपाल महासचिव बने । त्यसपछि त ओलीले पार्टीको संगठन हैन, एमालेमा आफ्नो गुट बनाए । त्यो गुट बनाउन उनले मदन भण्डारीको जबजको विरासत बोकेकी विद्या भण्डारीको भरपुर उपयोग गरे । समानान्तर गतिविधि गर्न मदन भण्डारी फाउण्डेसन नै बनाइयो । प्रकारान्तरमा उनको त्यही गुटले एमाले कब्जा गरेर केपी अध्यक्ष बने । जसमा विद्याको राम्रो साथ छ । केपी ओलीले पार्टी कब्जा गर्ने क्रममा मालेका संस्थापक नेताहरूलाई नै निस्कासन गरे । नेता मात्र हैन, कार्यकर्ता र सदस्यहरूको एउटा ठूलो पङ्क्ति नै बाहिरिएर अहिले नेकपा एस बनेको छ । ओली कति छली र धोकेबाज हुन् भन्ने कुरा त उनी अध्यक्ष हुँदा के कति छलछाम गरेर त्यसलाई कसरी धोकामा रूपान्तरण गरे?, त्यति नै हेरे पर्याप्त हुन्छ । एमालेको नवौँ महाधिवेशनमा उनको जीतको कुनै सम्भावना नै थिएन । उनको कित्तामा मदन भण्डारीको विरासतसहित विद्यादेवीले साथ दिईन । तर त्यो जीतका लागि पर्याप्त थिएन । अर्को खेमामा रहेका तत्कालीन त्यतिबेला कुनै पनि पक्षमा जीतको पल्ला भारी बनाउन निर्णायक थिए, वामदेव गौतम । ओलीले स्वास्थ्यको कारण देखाउँदै केही समयपछि नै बामदेबलाई नै कार्यवाहक अध्यक्ष बनाउने वाचा गरे । त्यस पछि बामदेवले साथ दिए । यो सबै परिस्थिति बनेपछि अन्तिम समयमा झलनाथ खनालले पनि खुलेर माधवलाई सघाएनन् । यी सारा जोडजामपछि केपी ओली एमाले अध्यक्ष भए ।

ओलीलाई पहिलोपटक एमाले अध्यक्ष बनाउने भनेकै विद्या भण्डारी, ईश्वर पोखरेल, वामदेव गौतम र झलनाथ खनाल हुन् । यदि उनीहरूमध्ये एकजनाले मात्र पनि साथ नदिएको भए ओली अध्यक्ष हुने सम्भावना नै थिएन ।तर ओली अध्यक्ष बने पछि एक–एक गरेर सबलाई धोका दिदै गए । पहिला झलनाथलाई त्यसपछि वामदेवलाई धोका दिए । यो धोकाको क्रम यतिमै सकिएको छैन, अब लाइनमा आइपुगेका छन्, ईश्वर पोखरेल र विद्यादेवी भण्डारी ।अब धोका पाएर रुने पालो ईश्वर पोखरेल र विद्यादेवी भण्डारीको हो ।

लोकतन्त्रमा पार्टीमा सदस्यनै बन्न नदिने भन्ने हुदैन । नेता ठिक नलागे कार्यकर्ता र जनताले नै भुमिकामा जानबाट रोक्छन । अहिले केपी ओलीले पार्टी सत्ताको प्रयोग गरेर जसरी विद्यादेवी भण्डारीलाई रोक्न खोज्दैछन ।यो अलोकतान्त्री र संविधान एवं पार्टीकै विधान विपरीत छ । एमालेका नेता कार्यकर्ताले यो प्रवृतीको बिरोध गर्नु पर्दछ । बिरोधको नेतृत्व विद्या भण्डारी आफैले गर्नुंपर्दछ । यदि नेतृत्व नगर्ने हो भने गीतकार एवं संचारकर्मी सूर्यकुमार क्षेत्रीले रचना गर्नु भएको र चर्चित लोकगायक राजु परियारद्वारा गाइएको लोकशैलीमा आधारित गीत “धोका दिनेलाई के भनौँ र र्खै … तिमी हाँस भो मै बाँचौला रोइ” भन्ने गित जस्तै हुने छ ।