प्रतिनिधिसभाको आजको बैठकमा सांसद मनिष झाले भाषा आयोगमा अर्कै कृष्णप्रसाद न्यौपानेले तीन वर्षदेखि काम गरिरहेको समाचारले देश कसरी चलिरहेको छ भन्ने प्रष्ट हुने बताएको छ । बैठकको आकस्मिक समयमा उनले संवैधानिक नियुक्तिसमेतमा यति लापरबाही हुनुले देश कसरी चलिरहेको छ भन्ने स्पष्ट हुने बताए ।
भिजिट भिसा प्रतिवेदनको पेज नं ४६ मा लेखिएको ‘मानव बेचबिखन’ शब्द उल्लेख गर्दै सांसद झाले त्यसमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे। ‘कुलिङ अफ पिरियड’का विषयमा राज्य व्यवस्था समितिका सभापतिलाई नैतिकताको प्रश्न भएकाले उहाँले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।
सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई मार्ने काम भएको भन्दै यसको विरोधमा संसद्को चौथो र पाँचौँ दल लागेको बताए । संसद्मा एउटै सांसद उठे पनि सम्बोधन गर्नुपर्नेमा दुई दलले लामो समयदेखि विरोध गरिरहँदा पनि सम्बोधन नहुनुले संसद् सरकारप्रति मात्र उत्तरदायी भइरहेको देखिएको उनको भनाइ छ । भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेच्ने काम भएको भदै उनले यस्ता काम बन्द गर्न पनि माग गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठक सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएपछि सभामुख घिमिरेले रास्वपाका सांसद झा र राप्रपाकी सांसद कार्कीलाई आकस्मिक समय पारेर बोल्न समय दिनुभएको थियो । सांसद झा र कार्कीले बोलिसकेपछि दुवै दलका सांसद बैठक स्थलबाट बाहिरिएका हुन् ।



















