खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा एक जना महिलासहित ९ जनाको मृत्यु भएको नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ । यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको छ ।
मदिरा सेवन गर्दा १६० जना बिरामी परेर अस्पताल भर्ना भएका थिए, जसमध्ये २३ जना मृत्यु भैसकेको छ । मृत्यु हुनेमा अधिकाशं नेपाल लगायत एशियाली राष्ट्रका रहेको जनाइएको छ ।
कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरामा मिथानोल भन्ने विषालु पदार्थ भेटिएको छ । जुन मदिरा सेवन गर्दा ठुलो सङ्ख्यामा नेपालीहरु बिरामी भएका हुन् ।
कुवेतमा हाल १ लाख ३० हजार जति नेपाली कार्यरत रहेको बताइएको छ ।



















