skip this काठमाण्डौं महानगरपालिका ११

जेनजी आन्दोलनमा ६ हजार राउन्डभन्दा बढी गोली चलाएको आन्तरिक रिपोर्ट

 

 

भदौ २३ गतेको जेनजी आन्दोलन र  २४ गतेको हिंसात्मक प्रदर्शनमा प्रहरीले रबर र धातुको गरी ६ हजार राउन्डभन्दा बढी गोली चलाएको आन्तरिक रिपोर्टमा देखिएको छ।

दुई दिनमा कति गोली चले भन्ने विवरण संकलन गर्न प्रहरी प्रधान कार्यालयले डिआईजी दीपक रेग्मीको नेतृत्वमा आन्तरिक समिति बनाएको थियो।

समितिको रिपोर्टले काठमाडौं उपत्यकासहित देशभरि भएको प्रदर्शन नियन्त्रण लिन प्रहरीले अत्याधिक बल प्रयोग गरेको देखाएको हो।

रिपोर्टले धातुको गोलीमात्रै करिब चार हजार र रबरको गोली २५ सय राउन्डभन्दा बढी चलेको देखाएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रहरीले रबर र धातुको गोली चलाएको थियो।

प्रहरीले चलाएको गोली लागेर त्यसदिन संसद भवन अगाडि १७ जनाको मृत्यु भएको थियो। इटहरीमा दुई जनाले ज्यान गुमाएका थिए।

 

प्रदर्शनमा काठमाडौंमा मात्रै नभई देशका विभिन्न ठाउँमा भएका आन्दोलनमा गोली चलाएका थियो।

प्रहरी उच्च स्रोतका अनुसार काठमाडौंमा मात्रै धातु र रबर गरी झन्डै तीन हजारभन्दा बढी गोली चलेको रिपोर्ट छ। प्रहरीले ८ हजारभन्दा बढी सेल अश्रुग्यास हानेको आन्तरिक प्रतिवेदनमा उल्लेख छ।

 

प्रदर्शनका क्रममा प्रहरीले ब्ल्यांक फायर समेत गरेको थियो। ब्ल्यांक फायर गर्दा पड्किने भए पनि त्यसमा गोली प्रयोग हुँदैन।

भदौ २३ गते संसद भवन अगाडि १७ जनाको मृत्यु हुनेगरी गोली चलेपछि भोलिपल्ट ध्वंसात्मक प्रदर्शन भएको थियो।

त्यसक्रममा सिंहदरबार, संसद भवन लगायत विभिन्न सरकारी कार्यालयहरू जलेका थिए।