देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलनको विकल्प , छैन के पी ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनालाई लोकतान्त्रिक व्यवस्था र संविधानमाथि आन्तरिक र बाह्य आक्रमण भनेका छन् ।

‘भदौ २३ र २४ गते संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणाली र संविधान विरुद्धको आन्तरिक र बाह्य षडयन्त्र भयानक र त्रासदीपुर्ण आक्रमाणका रुपमा प्रकट भयो’, ओलीले आफ्नो विशेष प्रस्तावमा भनेका छन् ।
ओलीले बुधबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा पेस गरेको ६ पन्ने विशेष प्रस्तावमा भदौ २३ पछिको विकसित राजनीतिक परिस्थितिबारे विश्लेषण गर्दै पार्टीका तर्फबाट दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
आफ्नो प्रस्तावमा आफू नेतृत्वको सरकार वा पार्टीले कुनै गल्ती नगरेको दाबी गर्दै धेरै प्रतिकूलताका बिचमा सरकारले निष्ठापूर्वक धेरै काम गरेको चर्चा गरेका छन् ।

ओलीले भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै २३ गते शान्तिपूर्ण आन्दोलनमा उत्रिएपनि विभिन्न प्रकारका स्वार्थी तत्व र समूहहरुको घुसपैठले अवस्थालाई भड्काएर हिंसात्मक बनाएको हुनसक्ने ठहर गरेका छन् ।
‘हामी स्पष्ट हुनुपर्दछ, जेनजी युवाहरुले राष्ट्रिय झण्डा ओढेर संसद् भवन, सिंहदरबार,सर्वोच्च अदालत लगायत सार्वजनिक सम्पत्ति र व्यक्तिको निजी सम्पत्तिमा आगो लगाउन सक्दैनन् र लगाएका होइनन्’, ओलीको निष्कर्ष छ ।
१५ बुँदामा पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्लेषण गरेका ओलीले भदौको २ दिने आन्दोलनपछि मुख्य राजनीतिक दलहरुबिच सहमति निर्माण गर्ने र कुनै पनि अर्थमा प्रतिनिधिसभा विघटन गर्न नहुने स्पष्ट र दृढ अडान राखेको समेत बताएका छन् ।
‘तर त्यो सुझाव विपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ । तसर्थ यो सरकार असंवैधानिक छ’, ‘हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र तत्काल पुनस्र्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ’, ओलीले भने ।
सुशीला कार्की नेतृत्वको सरकारले बनाएको छानबिन आयोगका सम्बन्धमा ओलीले उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने, तर यति ठुलो छानबिनको नेतृत्व जसलाई सुम्पिएको छ, त्यसबाट त्यो सम्भव नहुने भन्दै प्रश्न उठाएका छन् ।
नयाँ सरकार गठनपछि मुलुकको शान्ति सुरक्षाको स्थिति जोखिमपूर्ण बनेको भन्दै ओलीले सुरक्षाकर्मीका झण्डै १२ सय हतियार खोसिएको, एक लाख गोली अझै अपराधीहरुसँगै रहेको तथा ५ हजारभन्दा बढी कैदी जेलबाहिर रहेकाले समाजमा त्रास र भयको अवस्था रहेको बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्छ भन्ने जेनजी युवाहरुको माग सकारात्मक भएको भन्दै ओलीले अपेक्षित मात्रमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको स्वीकार गरेका छन् ।
देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलनको विकल्प नदेखेका ओलीले आगामी दिनमा जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रम तय गर्दै अघि बढ्न सिंगो पार्टीपंक्ति, लोकतन्त्रपक्षधर र राजनीतिक दलसहित आम नागरिकलाई आह्वान गरेका छन् ।