एमाले हाम्रै घर हो, कम्पाउन्डबाट छिराओस् कि पछाडिको ढोकाबाट, फर्कन तयार छौंः श्रेष्ठ

निवर्तमान सांसद एवम् एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले)फर्कन तयार भएको बताएका छन् । एमालेको नेतृत्वसँग पार्टीमा फर्कनेबारे कुराकानी भइरहेको बताउँदै सोमबारसम्म टुंगो लागिसक्ने बताए ।

श्रेष्ठले माओवादी केन्द्रसँग एकीकरण पनि नगर्ने र सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालले अगुवाइ गरिरहेको पुनःगठन अभियानमा पनि नबस्ने बताए । ‘एकता प्रक्रियामा नजाने बताइसकेका छौं । हामी झलनाथ–घनश्यामसँग पुनःगठन गरेर पनि बस्दैनौं । अब बीचमा अल्झिएर बस्दैनौं । हाम्रो स्पष्ट कुुरा छ,’ उनले भने, ‘एमालेमा फर्कने भने पनि उसले बाटो खोलिसकेको छैन । छलफल भइरहेको छ ।

अहिलेसम्म केही टुंगो लागेको छैन । हिजोदेखि क्रमशः कुरा भएको छ । आज केही न केही निष्कर्ष निस्कन्छ,’ उनले भने। एमाले अध्यक्ष ओलीले समूहगत प्रवेश नगराउने सन्दर्भमा पनि अप्ठ्यारो नभएको उनले बताए ।‘एमाले आफ्नै घर हो। कम्पाउन्डबाट छिराउँछन् कि पछाडिबाट छिराउँछन् कि, गेटबाट छिराउँछ कि, उनीहरूको कुरा हो,’ उनले भने।