अमेरिकाले तेस्रो मुलुकका नागरिकलाई शरण दिने सबै कार्यक्रम रोकेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकाको नागरिकता तथा अध्यागमन विभागले शरणार्थी कार्यक्रम रोकिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
‘त्यस्ता कार्यक्रमका लागि निर्णय भएका व्यक्तिहरूबारे सुरक्षा जाँच पूरा नभएसम्म शरणार्थी कार्यक्रम रोकेका छौं,’ विभागका निर्देशक जो एड्लोले भने।
उनले अमेरिकी जनताको सुरक्षा पहिलो प्राथमिकता रहेको पनि बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तेस्रो विश्वका सबै देशबाट भित्रने आप्रवासीहरूलाई स्थायी रूपमा रोक लगाउने बताएका छन्।
‘म तेस्रो विश्वका सबै देशबाट हुने आप्रवासन स्थायी रूपमा रोक लगाउनेछु। अमेरिकालाई फाइदा नपुग्ने कसैलाई पनि हटाइनेछ,’ उनले भने।
उनले सयौं सोमाली शरणार्थीहरू मिनेसोटाजस्तो एक समयको महान राज्यलाई कब्जा गर्न खोजेको आरोप लगाए। उनले डेमोक्र्याटहरूको पनि आलोचना गरे।
बिबिसीका अनुसार ट्रम्पले भनेको तेस्रो विश्व’ आर्थिक रूपमा कमजोर र विकासोन्मुख राष्ट्रहरू हुन्।
यसअघि ट्रम्प प्रशासनले अफगानिस्तानसहित अफ्रिका र एसियाका ११ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ। उनको पहिलो कार्यकालमा पनि मुस्लिम बहुल देशहरूलाई लक्षित गरेर यात्रा प्रतिबन्ध लागू गरिएको थियो।
ट्रम्पको यो निर्णय वाशिङ्टन डिसीमा सुरक्षाकर्मीमाथि गोली प्रहरा भएको घटनापछि भएको हो।
सिराक्युज विश्वविद्यालयको ट्रानज्याक्शनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसका अनुसार सन् २०२५ अगस्टसम्म करिब २२ लाखभन्दा धेरै शरणार्थीहरू अमेरिका प्रवेश गर्ने प्रतिक्षामा थिए।
अमेरिकाको वाशिङ्टन डिसीको गोलीकाण्डमा घाइते भएका दुईमध्ये एक सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु भएको छ।
बुधबार ह्वाइट हाउस नजिकैको मेट्रो स्टेसन तैनाथ नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि बुधबार गोली प्रहार भएको थियो।
गोली प्रहारबाट दुवै गम्भीर घाइते भएका थिए। उपचाररमध्ये २० वर्षीया सारा बेकस्ट्रमको बिहीबार निधन भएको हो।
अर्का सुरक्षाकर्मी २४ वर्षीय एन्ड्र्यू वोल्फ जीवनसँग लडिरहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
घटनाको अनुसन्धान एफबिआईले गरिरहेको छ। सारा २०२३ को जुनमा नेसनल गार्डमा भर्ती भएकी थिइन्।
उनलाई ८६३ औं सैन्य प्रहरी कम्पनीमा खटाइएको थियो। जुन वेस्ट भर्जिनिया आर्मी नेसनल गार्ड भित्रको १११ औं इन्जिनियर ब्रिगेडको हिस्सा हो।
उनको मृत्यु भएपछि उनी अध्ययन गरेको हाइ स्कुलले शोक वक्तव्य जारी गरेको छ।


















