“बलात्कार लोकेसनमा हैन, महिलाको शरीरमाथि हुन्छ”: सपना प्रधान मल्ल

सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महिला हिंसाको कानुनको सवालमा अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गरेको तर हिंसाको कुरा नगरेको बताइन् । आइतबार नेपाल ल क्याम्पस, महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा नेपाल टुरिजम बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन् ।

‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन । विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ । यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उनले भनिन् । न्यायाधीश मल्लले हिंसामा परेका महिलालाई न्याय दिन काम गरिरहेको पनि प्रयाप्त नभएको बताइन् ।

उनले भनिन्, ‘महिलाको बलात्कार हुँदा कहाँ बलात्कार भयो भनि लोकेसन खोज्ने हैन नि उसको शरीरमाथि भएको छ । उसको शरीरनै घटनास्थल हो भन्ने नजिर हामीले स्थापित गरेका छौ । हामीले गरिरहेका छौ तर निश्चय नै त्यो प्रयाप्त छैन । अहिले हरेक दिन फरक फरक मुद्धाहरु पनि आइरहेका छन् ।’
उनले पुरुष पनि पीडित हुन सक्ने भन्दै सबै पुरुष दोषि हुन भन्ने पूर्वाग्रह राख्न नहुने बताए ।

साथै उनले आफ्नो अनुभव सुनाउँदै न्यायाधीश प्रधानले घरेलु हिंसामा ९९ प्रतिशत महिला पीडित भएको मुद्दा आउने गरेको जानकारी दिइन् । समाजमा पुरुष पनि पीडित हुने गरेको तर उनीहरुको संख्या एक प्रतिशतभन्दा बढी नभएको उनले बताइन् । घरभित्र कानुन प्रवेश गर्छ भन्ने कुरा वैवाहिक हिंसा एउटा उदाहरण भएको प्रस्तुत गर्दै उनले भनिन्, ‘यौन हिंसा मात्र होइन, अधिकार पनि हो । यौनलाई अधिकारको रुपमा प्रयोग गर्न पुरुषप्रधान समाजको मनस्थिति पहिला परिवर्तन हुनुपर्छ ।’

‘सबै पुरुष हिंस्रक हुँदैनन्, पुरुषको पनि साथ लिएर अघि बढ्दा समाजमा छिटो र प्रभावकारी परिवर्तन आउँछ’, ‘न्यायाधीश प्रधानले भनिन्, ‘महिला र पुरुषले सँगै उडान भर्ने हो भने र महिला हिंसाविरुद्ध संस्थागत प्रतिबद्धता जनाउने हो भने समाजमा व्याप्त हिंसालाई न्यूनिकरण गर्न सकिन्छ ।’

कार्यक्रममा नेपाल ल क्याम्पसकी प्राध्यापक मनिषा पौडेलले महिला हिंसाविरुद्धको १६ दिने अभियान क्याम्पसले विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको जानकारी दिइन् । उनले यस वर्ष भने फरक तरिकाबाट अभियान सञ्चालन गर्न नेपाल टुरिजम बोर्ड र एफडब्लुएलडीले साथ र सहयोग गरेको बताइन् । यस्ता कार्यक्रमले विद्यार्थीले आर्जन गरेको ज्ञान, सिप र अनुभवको परीक्षा हुने भएकाले महिला हिंसाविरुद्धको अभियान यो वर्ष नयाँ ढंगले सञ्चालन गरेको प्राध्यापक पौडेलले जानकारी दिइन् ।

भाष्कर तेजश्री मेमोरियल फाउनडेसनले महिला हिंसा र बालबालिकामा हुने गरेको हिंसाका बारेमा अध्ययन र अनुसन्धान गरिरहेको डा रिता थापाले जानकारी दिइन् । उनले स्कुलमा बालबालिकामा ६६ प्रतिशत र २२ प्रतिशत शिक्षकबाट हिंसा हुने गरेको तथ्यांक प्रस्तुत गरिन् । लुम्बिनी प्रदेशमा गरिएको एउटा अध्ययनको तथ्यांक प्रस्तुत गर्दै थापाले भनिन्, ७४ प्रतिशत महिलामा यौन दुरव्यवहार हुने गरेको त्यसमध्ये पनि १० वर्षमुनिका ३१ प्रतिशत बालबालिकामा यौन हिंसा हुने गरेको छ ।’

कार्यक्रममा नेपाल ल क्याम्पसका विद्यार्थीले हिंसालाई शुन्यमा झार्न सहयात्रा सुरु गरौं नाटक प्रस्तुत गरेका थिए भने महिला हिंसा विरुद्ध बनाइएका विभिन्न कला प्रदर्शनी पनि गरिएको थियो । कार्यक्रमको अन्त्यमा हिंसाविरुद्ध प्यानल डिस्कसन भएको थियो । छलफलमा महिला आयोगकी विद्याकुमार सिन्हा, मानवअधिकारवादी रेणु राज भण्डारी र एफडब्लुएलडीका अधिवक्ता सुष्मा गौतम सहभागी थिए ।