चुनावअघि ७ दिनदेखि मदिरा बिक्री-सेवन बन्द, मतदान दिन सवारी सञ्चालनमा कडाइ

आगामी फागुन २१ गते हुने मतदानलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले कडा सुरक्षा तथा आचारसंहिता सम्बन्धी निर्णयहरू कार्यान्वयनमा ल्याएको छ।

निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम नतिजा सार्वजनिक नभएसम्म मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित समितिको बैठकले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै यस्तो निर्णय गरेको हो। आयोगका अनुसार यसले निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र मर्यादित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा बन्द हुनेछ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन निर्देशन दिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिलाई पनि निषेधित गतिविधि हुन नदिन सक्रिय रूपमा परिचालन गरिने जनाइएको छ। उल्लंघन भएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरिनेछ। मतदानको दिन सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा समेत रोक लगाइनेछ। फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सवारी आवागमनमा प्रतिबन्ध रहनेछ। तर, एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन र पास प्राप्त सवारीलाई भने सञ्चालनको अनुमति दिइनेछ।

निर्वाचन आयोगले सबै सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न तथा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्न अपिल गरेको छ।