ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमणः चाँगाथलीमा हवाई फायर

ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ । चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएको थियो ।

प्रहरी प्रभाग लुभुबाट खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी)लाई स्थानीय केही व्यक्तिहरूले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो । आक्रमणबाट घाइते भएका प्रहरी कर्मचारीको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरका २९ वर्षीय बुद्ध तामाङ (विकास), सल्यानका २० वर्षीय रमेश शाही र शंकर शाही, तथा रुकुमका २२ वर्षीय राजु मगर रहेका छन् । ललितपुर जिल्ला अदालतले उनीहरूलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।