नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।
आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सुशीला कार्की नेतृत्वको अहिलेको सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेको छ । सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै यसले आशंका जन्माएको महामन्त्री पौडेलको भनाइ छ । पौडेलले भने, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन। यसले अनेक आशंका र उपशंका जन्माएको छ ।’
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोकेको हो भन्ने प्रश्न उनको छ । महामन्त्री पौडेलले पार्टी केन्द्रीय समिति बैठकले पनि उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताएका छन् ।


















