पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २४ को जेन-जी आन्दोलनसँग सम्बन्धित आफ्नो परिवारबारे फैलाइएको प्रचार निराधार र कपोलकल्पित भएको स्पष्ट पारेका छन्।
आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले आफू र परिवारले कुनै अवैध आम्दानी नगरेको उल्लेख गरेका छन्। प्रचण्डका अनुसार, काठमाडौंमा उनी भाडाको निवासमा बस्दै आएका थिए र चितवनमा रहेको घरमा तोडफोड तथा आगजनी भएको थियो। “मेरो सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको प्रचार पूर्ण झूट हो,” उनले भने। उनले भदौ २३ को दमनको भर्त्सना गर्दै आन्दोलनकारीलाई सहिद घोषणा गर्न सार्वजनिक अपील गरेको र भदौ २४ मा सिंहदरबारमा सर्वदलीय बैठकमा सहभागी भएको जानकारी पनि दिएका छन्। उनका अनुसार, आन्दोलन सरकारको कार्यशैलीप्रति जनतामा बढेको असन्तुष्टि र आक्रोशको परिणाम थियो, र केही गलत तत्त्वहरूले यसको सदुपयोग गरे।
आन्दोलनमा आफ्नो पार्टीले समर्थन प्रदान गरेको भए पनि कुनै हिंसात्मक गतिविधिमा संलग्न नभएको प्रचण्डले स्पष्ट पारे। उनले बाह्य तथा आन्तरिक घुसपैठको संकेत गर्दै युवा सहभागिहरूलाई समयमै घर फर्किन आग्रह गरिएको जानकारी आयोगमा दिएका छन्। प्रचण्डले आफ्नो कार्यकालमा नियुक्ति र सरुवा–बढुवामा योग्यता प्रणालीलाई प्राथमिकता दिएको दाबी गर्दै, राजनीतिक हस्तक्षेपले प्रहरी, निजामती र न्याय सेवाको व्यावसायिकतामा असर पुगेको स्वीकार गरे। भविष्यमा यस्ता घटना दोहोरिन नदिन युवा केन्द्रित रोजगारी र अवसर कार्यक्रम आवश्यक रहेको उनले सुझाए।



















